विवादास्पद साउदी युवराजलाई पाकिस्तानको रेड कार्पेट

दियो पोस्ट  

काठमाडौं, माघ ६ । वैदेशिक मुद्रा सञ्चय गुमाउँदै गएको, आर्थिक घाटा बेहोरिरहेको र आफ्नो वित्तिय भविष्य सुरक्षित गर्न संघर्ष गरिरहेको पाकिस्तानले साउदी अरेबियाका शासक युवराज मोहम्मद बिन सलमानका लागि एउटा भब्य स्वागत गर्दैछ।

र, यो सजिलै देख्न सकिन्छ की प्रधानमन्त्री इमरान खान किन पैसा चाहन्छन् र त्यो पनि छिट्टै।

एमबीएस भनेर चिनिने मोहम्मद बिन सलमान अर्बौंको बाचा गर्दै पाकिस्तानमा आउँदै छन्।

तर पैसा केवल सम्बन्धको एउटा पक्षमात्रै हो जुन गहिरो रुपमा अगाडि बढ्छ।

एसियाका पाँच देशको भ्रमणमध्ये पाकिस्तान पहिलो गन्तव्य ठानिएको थियो तर मलेशिया र इण्डोनेशियाको भ्रमण अहिलेका लागि पछि धकेलिएको छ।

उनको चीन र भारतको भ्रमण गर्ने तालिका अझै जारी छ जसलाई विवादास्पद युवराजले आफ्नो पक्षमा समर्थन जुटाउनकै लागि गर्न लागेको रुपमा हेरिएको छ।

भ्रमण कति भव्य?
साउदी शाही भ्रमणलाई पाकिस्तानमा पछिल्लोपटक यति नै धुमधामसँग सन् २००६ मा लिइएको थियो जब साउदी शासक राजा अब्दुल्लाह बिन अब्दुलाजिजले परमाणु अस्त्र देशको भ्रमण गरेका थिए।

र, यसपटक सुरक्षालाई पनि निकै गम्भीर रुपमा लिइएको छ। इमरान खानले व्यक्तिगत रुपमै व्यवस्थापनको ख्याल गरिरहेको बताएका छन्।

भारतले कश्मिरमा सुरक्षा फौजमाथिको घातक हमलामा पाकिस्तानलाई दोष लगाएपछि भारत र पाकिस्तानबीच तनाव चुलिएका बेला युवराज बिन सलमानको भ्रमण हुन लागेको छ।

जेएफ-१७ थन्डर लडाकु विमानले युवराजको आइतवार पाकिस्तानी हवाइक्षेत्रमा प्रवेश गरेसँगै गस्ती गर्नेछ।

त्यतिबेला अरू सबै उडान सेवाहरू बन्द गरिनेछ। १ हजार शक्तिशाली प्रतिनिधिका लागि इस्लामावादमा सयौं पाँचतारे कोठाहरू अग्रिम रुपमै बुक गरिएका छन्।

स्वागत समारोहका लागि हजारौं परेवाहरूलाई पनि समातेर राखिएको छ।

गत वर्ष रुपैँया बढाउने मनसायले आरामदायी कारहरूको लिलामीमा राखेको पाकिस्तान सरकारले यो भ्रमणका लागि तीनसय वटा टोयोटा ल्याण्ड क्रुजरको व्यवस्थापन गरेको छ।

दुई दिने भ्रमणमा साउदी युवराज प्रधानमन्त्रीको निवासमा बस्नेछन्। यसरी प्रधानमन्त्री निवासमै यसअघि कुनै पनि अन्य देशका अतिथिलाई राखिएको थिएन।

पाकिस्तान किन पैसाका लागि यति आतुर छ?
केन्द्रिय बैंकसँग विदेशी मुद्रा सञ्चय अन्तर्गत जम्मा ८ अर्ब डलर मात्रै रहेको छ र भुक्तानी सन्तुलन संकटको सामना गरिरहेको छ। गत अगष्टमा शपथ लिएयता पूर्व क्रिकेटर इमरान खानले मित्र राष्ट्रहरूसँग सहयोगका लागि आक्रामक प्रयासहरू गरिरहेका छन् ताकि पाकिस्तानको अर्थतन्त्रलाई जोगाउन सकियोस्।

उनले अन्तर्राष्ट्रिय मुद्रा कोषसँग निकै कडा सर्तसहित सहायता खोजिरहेका छन्। सन् १९८० को उत्तरार्द्ध यता पाकिस्तानले आर्थिक सहायता खोजेको यो १३ औं पटक हो।

आबुदावीका युवराज मोहम्मद विन जायद अल नयानको भ्रमण लगत्तै युवराज मोहम्मद बिन सलमानको भ्रमण हुन लागेको हो। बीबीसीबाट