काठमाडौँ, फागुन ६ । सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकटका विद्यार्थी संगठन अखिल क्रान्तिकारी र अनेरास्ववियुले त्रिभुवन विश्वविद्यालयका उपकुलपतिको कार्यलय घेराउ गरेका छन् ।
स्ववियू निर्वाचन कार्यतालिका तत्काल सार्वजनिक गर्न दवाव दुई विद्यार्थी संगठनले संयुक्त रुपमा सोमबार कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयका उपकूलपति तीर्थराज खनियाँको कार्यालयमा एक घण्टा घेराउ गरेका हुन ।
प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेस निकटको विद्यार्थी संगठन नेपाल विद्यार्थी संगठन (नेविसंघ) संघ मिलेमतो गरि उपकुलपति खनियाँ स्ववियू निर्वाचन टार्ने खेलमा लागेको भन्दै दुई विद्यार्थी संगठनले उनको कार्यलय १ घण्टा घेराउ गरेका हुन् ।

फागुन १४ गतेका लागि तय गरिएको स्ववियू निर्वाचनको कार्यतालिका आजै (सोमबार) सार्वजनिक गर्नुपर्ने त्रिभुवन विश्वविद्यालयको कार्यतालिकामा उल्लेख गरिएको छ । सोही कार्यतालिका अनुसार स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरेकोमा अनेरास्ववियू र अनेरास्ववियू (क्रान्तिकारी)को आपत्ति छ । चैत्र १४ गते भित्र निर्वाचन सम्पन्न हुने गरी स्ववियू निर्वाचनको कार्यतालिका सार्वजनिक नगरे त्रिवि पदाधिकारी विरुद्ध सशक्त आन्दोलन गर्न बाध्य हुने संयुक्त विद्यार्थी संगठनले चेतावनी दिएका छन ।
घेराउका क्रममा विद्यार्थी नेताहरुले स्ववियू निर्वाचन टार्न लागि परेको भन्दै त्रिविका उपकूलपति खनियाँको राजीनामा माग गर्दै चर्का नाराबाजी पनि गरेका थिए ।