पशुपतिको गीतलाई लिएर संसदमा हंगामा, शर्मालाई २५ हजार दिने काँग्रेस सांसदको घोषणा

दियो पोस्ट  

काठमाडौँ, फागुन ६ । चर्चित लोकदोहोरी गायक पशुपति शर्माले गाएको गीत यूट्युबबाट हटाइएपछि चौतर्फी सरकारको विरुद्ध आवाज उठिरहेको छ । उनको गीतलाई सरकारले प्रतिवन्ध लगाएको थियो । सरकारले अभिव्यक्तिको स्वतन्त्रताको हनन गरेको भन्दै प्रमुख प्रतिपक्ष दल नेपाली कांग्रेसले संसदमा यस बिषयमा कुरा उठाएका छन् ।

आइतबारको प्रतिनिधिसभाको वैठकमा प्रतिपक्ष दल काँग्रेसका नेता अमरेशकुमार सिंहले पशुपति शर्माको गीतलाई प्रतिबन्ध लगाएको कुरालाई वहसको विषय बनाएका थिए । त्यसपछि सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का नेता झपटबहादुर रावल सिंहको विरोधमा उत्रिएका हुन् । संसदमा पशुपति शर्माको गीत वहसको विषय बनेपछि सत्तापक्ष र प्रतिपक्षबिच चर्को विवाद भएको थियो ।

काँग्रेस नेता सिंहले पशुपती शर्मालाई २५ हजार रुपैयाँ पुरस्कार दिने घोषणा समेत गरे । त्यसको प्रतिवाद गर्दै नेकपाका नेता रावलले सिंहलाई संसदमै आएर पशुपति शर्माको गीत गाउन चुनौती दिए । यसो गरेको खण्डमा आफ्नो एक महिनाको तलब दिनेसमेत घोषणा गरे ।

आइतबारको संसद वैठकमा पशुपति शर्माको गीतलाई लिएर प्रतिपक्ष र सत्तापक्षका दुई नेताहरुबिच कडा शब्दमा घोचपेच भएको थियो । पशुपति शर्मालाई यो गीत गाएवापत पुरस्कार नै दिने प्रतिपक्षको घोषणापछि यसको रहस्य थाहा भएको समेत नेकपा नेता रावलले बताए । उनले व्यंग्य गर्दै भने, ‘भगवान पशुपतिनाथले बचाउन नसकेको काँग्रेसलाई पशुपति शर्माले बचाउलान् ।’ रावलले पशुपति शर्माको यो गीतले देश लुट्नमा प्रेरित गर्ने भएकोले यसमा प्रयोग भएका शब्दहरुलाई ख्याल गर्नुपर्ने बताए । उनले दुई तिहाईसहितको सरकारलाई कुकुर, राक्षस तथा यमराज जस्ता नराम्रा शब्द हरुको प्रयोग भएकोले पनि आपत्ती जनाएका छन् ।