राजश्व अनुसन्धान विभागका शाखा अधिकृत रामजी रिजालले ३ करोड भ्रष्टाचार गरेको खुलासा

दियो पोस्ट  

काठमाडौँ, फागुन ६ । राजश्व अनुसन्धान विभाग ललितपुरका पुर्व शाखा अधिकृत रामजी रिजालले करिब ३ करोड रुपैयाँ भ्रष्टाचार गरेको खुलेको छ । आइतबार अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उनिविरुद्ध विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । आयोगले उनले पदिय दुरुपयोग गरि अकुत सम्पत्ती आर्जन गरेको ठहर गर्दै उनिविरुद्ध भ्रष्टाचार मुद्धा दायर गरेको हो ।

वि.स. २०४० देखि सरकारी सेवामा प्रवेश गरेका रिजाल २०७४ वैशाख १५ गते अवकास पाएका थिए । करिब ३५ बर्षको सेवामा उनि खानेपानी तथा ढल निकास विभाग, भुमिसुधार तथा व्यवस्था मन्त्रालयको खरिदार पदबाट स्थायी नियुक्ती पाएका थिए । अख्तियारले राजश्व अनुसन्धान विभाग सम्म आइपुग्दा रिजालले कमाएको सम्पत्ती र त्यसका स्रोतहरुको बारेमा अनुसन्धान गर्दै भ्रष्टाचार भएको ठहर गरेको हो ।

उनले सार्वजनिक सेवामा प्रवेश गरेदेखि अवकास लिँदासम्म पारिश्रमिक, जग्गा विक्री लगायत अन्य विभिन्न आम्दानीबाट कुल एक करोड ९६ लाख ८६ हजार पाँचसय आर्जन गरेको अख्तियारको अनुसन्धानले देखाएको छ । त्यस्तै उनले सार्वजनिक सेवामा रहँदा कुल ४ करोड ९४ लाख २४ हजार ८ सय १९ रुपैयाँ खर्च तथा लगानी गरेको भेटिएको छ । यसमध्य २ करोड ९७ लाख ३८ हजार ३ सय १० रुपैयाँ बराबरको सम्पत्तीको स्रोत नखुलेको पाइएको हो । रिजाल र उनको श्रीमतीको नाममा संजिवनी आयुर्वेदिक डिस्ट्रिव्युटर्स र पिगासस ट्राभल्स समेत रहेको छ ।

उनिमाथि २ करोड ९७ लाख ३८ हजार विगोसहित स्रोत नखुलेको सम्पत्ती जफतको गर्नुपर्ने विवरणसहित अख्तियारले मुद्धा दायर गरेको हो । उनले कार्यलयमा रहँदा पदिय दुरुपयोग गरेर अकुत सम्पत्ती आर्जन गरेको र अस्वभाविक तरिकाले उच्च जीवनयापन गरिरहेकोले कारवाही गरिपाउँ भन्ने उजुरीका आधारमा अख्तियारले छानविन गरेको थियो ।