बार एशोसियसनको निर्वाचनका लागि मनोनय दर्ता, कसले कुन पदमा उम्मेदवारी दिए ?

दियो पोस्ट  

काठमाडौँ, फागुन ६ । कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एशोसिएसनको नयाँ नेतृत्वका लागि सोमबार मनोनयन दर्ता गरिएको छ ।

सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायी र प्रम्ख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट कानुन व्यवसायीहरुले प्यानलकै बनाएर उम्मेदवारी दिएका हुन । सत्तारुढ नेकपा कम्युनिष्ट पार्टी (नेकपा) निकट कानुन व्यवसायीको संगठन नेपाल लयर्स एशोसिएसन (एनएलए)को तर्फबाट वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठले नेपाल बार एशोसिएशनको अध्यक्ष पदमा उम्मेदवार दिएका छन् भने प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेस निकट कानुन व्यवसायीको संगठन डेमोक्र्याटिक लयर्स एशोशिएसन (डिलए)को तर्फबाट अधिवक्ता सुनिलकुमार पोखरेल प्रतिद्वन्दीको रुपमा उभिएका छन् ।

एनएलएको तर्फबाट अध्यक्षको उम्मेदवार दिएका वरिष्ठ अधिवक्ता श्रेष्ठले नेपाल बार एशोसिएशनलाई सबल बनाउन आफूले प्यानलसहित उम्मेदवारी दिएको स्पष्ट पारे । उनले निष्ठावान कानुन व्यवसायीहरु आवश्यक रहेकाले त्यसको पूर्तिका लागि पनि आफूले अध्यक्षमा उम्मेदवारी दिएको पनि बताए ।

यता, डिएलएका तर्फका अध्यक्षको उम्मेदवार बनेका पोखरेलले स्वतन्त्र न्यायालयको गरिमालाई बचाउन आफूले प्यानलसहित उम्मेदवारी दिएको बताए । उनले कानुन व्यवसायीहरुको हित सुनिश्चित गर्न पनि लागि पर्ने प्रतिवद्धता समेत व्यक्त गरे ।

नेपाल बार एशोसिएशनको नयाँ नेतृत्वका लागि आगामी चैत्र १६ गते शनिबार काठमाडौंमा निर्वाचन हुँदैछ । सोही निर्वाचनका लागि सोमबार उम्मेदवारी दिइएको हो । जस अनुसार एनएलएबाट श्रेष्ठले अध्यक्ष र महासचिव सुरेन्द्रबहादुर थापाले उम्मेदवारी दिएका छन् भने डिएलएबाट अध्यक्षमा पोखरेल र महासचिवमा लिलामणि पौडेलले उम्मेदवारी दिएका हुन् ।

बारमा एक अध्यक्ष, एक महासचिव, एक कोषाध्यक्ष, सबै प्रदेशबाट एक÷एक जना सहित ८ जना उपाध्यक्ष तथा १४ जना सदस्यका लागि निर्वाचन हुनेछ । २५ सदस्यीय नयाँ नेतृत्वको लागि दुवै पक्षले आ–आफ्नो पक्षबाट उम्मेदवारी दिएका छन । निर्वाचनमा सत्तारुढ नेकपा निकट कानुन व्यवसायीहरुको संगठन एनएलएले नेपाल बारलाई सवल बनाउने एजेन्डालाई जोड दिएको छ भने काँग्रेस निकट कानुन व्यवसायीहरुको संगठन डिएलएले स्वतन्त्र न्यायालय कायम राख्ने एजेन्डालाई अघि सारेको छ ।

सिफारिस