अष्ट्रेलियामा १२ सय नेपाली विद्यार्थीको विचल्ली भएपछि राजदुतावासले निकाल्यो यस्तो विज्ञप्ति

दियो पोस्ट  

काठमाडौं, ८ फागुन । अष्ट्रेलियाको सिड्नी र ब्रिसबेनमा रहेको अष्ट्रेलिया इन्स्टिच्युट अफ बिजनेस एण्ड टेक्नोलोजी (एआइबीटी) बन्द भएपछि १२ सय विद्यार्थी अलपत्र परेका छन् ।

उनीहरुको उद्दारको लागि अष्ट्रेलिया स्थित नेपाली राजदुतावासले पहल गरिरहेको जनाएको छ । ‘नर्सिङ अध्ययनरत नेपाली विद्यार्थीहरूलाई पर्न गएको समस्या र उनीहरूको भविष्यप्रति यस राजदूतावासको गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा भनिएको छ,‘उक्त कलेजमा अध्ययनरत करिब १२०० विद्यार्थीहरूलाई पर्न गएको यस समस्याको समाधान र उचित निकासको लागि यस राजदूतावासले अष्ट्रेलियाका सम्बन्धित सरकारी निकायहरूसँग निरन्तर सम्पर्क गरिरहेको छ ।’

राजदुतावासले सहजीकरणका लागि कन्सुलेट जनरल, गैरआवासीय नेपाली सङ्घ, काउन्सिल अफ इन्टरनेशनल स्टुडेन्ट अष्ट्रेलिया (सिसा), पत्रकार तथा अन्य सरोकारवाला निकाय एवम् संस्थाहरूसँग निरन्तर परामर्श गर्नुका साथै सम्बन्धित विद्यार्थीहरूसँग सम्पर्कमा रहेको बताएको छ।


समस्याको निकास छिट्टै निष्कने समेत राजदुतावासले जनाएको छ ।