काठमाडौँ, फागुन ९ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालिन आयुक्त राजनारायण पाठकले घुस लिएको भिडियो नेकपाले बुझाएको छ । पाठकको अनुसन्धानमा खटिएको टोलीलाईं घुस लिँदै गरेको भिडियोसहितको पेनड्राइभ र कागजातहरु बुझाएको हो ।
अनुसन्धानको क्रममा नेकपाको संसदिय दलको कार्यलय सिंहदरबार पुगेको टोलीलाई प्रमाणहरु बुझाइएको स्रोतले बताएको छ । नेकपा संसदीय दलका उपनेता सुवास नेम्बाङले उक्त भिडियोसहितको पेनड्राइभ हस्तान्तरण गरेको छ ।
पाठकले भक्तपुरको चाँगुनारायण नगरपालिकास्थित इन्जिनियरिङ कलेजको सम्पत्ती बाँडफाँडको विवाद मिलाइदिने भन्दै कलेज संचालकसँग पटकपटक गरि ७८ लाख घुस लिएको थियो । भ्रष्टाचार नियन्त्रण गर्ने निकायकै आयुक्त घुसखोरीमा मुछिएपछि चौतर्फी आलोचना भएको थियो ।
आयुक्तले घुस लिएको भन्दै सत्तारुढ दल नेकपाले महाअभियोगको तयारी थालेको थियो । महाअभियोगको डरले आयुक्त पाठकले यसअघि नै पदबाट राजिनामा दिइसकेका छन् । उनको सम्पत्ती, बैँक खाता रोक्का गरिएको छ भने बानेश्वर ओम शान्ती चोकमा भएको घरसमेत सिलबन्दी गरिएको छ ।