भेनेजुएला: सैनिक हस्तक्षेपको त्रास देखाउँदै मदुरोले गरे सिमाना बन्द

दियो पोस्ट  

भेनेजुएलाका राष्ट्रपति निकोलास मदुरोले बिहीवार राति ब्राजिलसँगको सिमाना बन्द गरिदिएको बताएका छन्।

त्यहाँको एक टेलिभिजनमा त्यस्तो घोषणा गरिरहँदा उनले कोलम्बियासँगको सीमा बन्द गर्नेबारे समेत सोचिरहेको बताएका थिए।

देशका लागि आइरहेको मानवीय सहायता सामग्री बाँड्ने विपक्षीको प्रयास रोक्न मदुरोले त्यस्तो कदम चालेका हुन्।

यसअघि नै उसले आफ्तो उत्तरी तटतर्फको समुद्री र हवाई सीमा बन्द गरिसकेको थियो। त्यसतर्फ रहेको एउटा डच टापु कुरासोले अमेरिकाले दिने राहत भित्र्याउन सघाउने भनेपछि त्यसो गरिएको थियो।

मदुरोले मानवीय सहायता सामग्री वितरण गर्ने नाममा अमेरिकाले उनको देशमा सैनिक हस्तक्षेप गर्न खोजेको आरोप लगाउँदै आएका छन्।

कोलम्बियासँगको सिमानामा रहेको नगर कुकुटामा गत साता अमेरिकी सेनाका जहाज राहत सामग्री बोकेर ओर्लिएपछि मदुरोले उनको भनाइ दोहोर्‍याए।

सहायता रोक्ने प्रयास

ब्राजिलको सरकार विपक्षी नेता ग्वाइदोलाई अन्तरिम राष्ट्रपतिको मान्यता दिनेमध्येको एक हो।

उसले समेत भेनेजुएलासँगको आफ्नो सिमानामा सहायता सामग्री पठाएर सघाउने बताएको थियो।

अहिले विपक्षी नेता ह्वान ग्वाइदो भने स्वयंसेवक एवं समर्थकले भरिएका गाडीका लस्करको नेतृत्व गर्दै राजधानी क्याराकसबाट कोलम्बियासँगको सीमातर्फ लागिसकेका छन्।

त्यसक्रममा उनीहरूले सुरक्षाकर्मीबाट छिटफुट रुपमा अवरोध सामना गरिरहेका छन्।

तर उनीहरू अघि बढ्ने क्रम भने रोकिएको छैन।

मदुरोको राहत

सन् २०१३ यता त्यहाँको सत्तामा रहेको मदुरोले देशमा संकट रहेको कुरालाई अस्वीकार गर्दै आएका छन्।

उनी त्यसलाई अमेरिकी योजनाको एउटा पाटो भन्छन्।

तर यसैसाता उनले आफ्नो साझेदार रुसबाट ३०० टन सहायता सामग्री भेनेजुएला भित्र्याउने घोषणा गरेका थिए।

भेनेजुएलाका खाद्यमन्त्रीले एउटा ट्विट गर्दै आफ्नो सरकारले कोलम्बियासँगको सीमा क्षेत्रमै झण्डै २० हजार राहतका सामग्री रहेको बाकस बाँड्ने समेत बताएका छन्। ट्विटमा राखिएको भिडि‌ओमा ती राहत भरिएका भनिएका ट्रकको लस्कर देखाइएको छ।