
काठमाडौँ, फागुन १० । मकवानपुरको भीमफेदी कारागार कार्यलयका शाखा अधिकृत तथा जेलर पक्राउ परेका छन् । कार्यलयकै चौकीदारसंग जवरजस्ती घुस लिएको आरोपमा उनलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले शुक्रबार पक्राउ गरेको हो ।
जेलर मदन अधिकारीले सोही कार्यलयका चौकीदारलाई बारम्बार सरुवाको धम्की दिँदै रकम असुल गरेको उजुरी परेको थियो । उजुरीको आधारमा आयोगको कार्यलय हेटौँडाबाट खटिएको टोलीले अधिकारीलाई घुससहित पक्राउ गरेको छ ।
रकम नदिए अन्यत्र सरुवा गरिदिने भएपछि चौकीदारले पनि रकम जुटाएर दिएको र बारम्बार घुस माग्न थालेपछि उजुरी दिएको स्रोतले बताएको छ । ७५ हजार घुससहित पक्राउ परेका अधिकारीको बारेमा थप अनुसन्धान भइरहेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रवक्ता रामेश्वर दंगालले जानकारी दिएका छन् ।