धादिङका सांसद खेम लोहनी एमसीसीको पक्षमा, अनावश्यक भ्रम नछर्न चेतावनी !

दियो पोस्ट  

धादिङ, फागुन ४ । प्रतिनिधिसभा सांसद खेम लोहनीले एमसीसीको विषयमा अनावश्यक भ्रम नछर्न चेतावनी दिएका छन् । शनिबार धादिङको निलकण्ठ नगरपालिकामा रहेको उज्यालो बहुउद्धेश्यीय सहकारी संस्थाको १२ औँ बार्षिक साधारण सभामा बोल्दै सांसद लोहनीले एमसीसी यथार्थमा नेपालको हितमा रहेको बताउँदै यसबारेमा अनर्गल प्रचार गरि जनता भड्काउने काम नगर्न अनुरोध गरेका हुन् ।

उनले एमसीसी नेपालको सडक स्तरोन्नती र विद्युत प्रसारण लाइनको विकास गर्नका लागि आएको अमेरिकी सहयोग भएको स्पष्ट पारेका छन् । एमसीसी एकैपटकमा आएको सबैभन्दा ठुलो रकमको सहयोग रहेको उनले बताए । यसबाट प्राप्त हुने रकमबाट ३ सय ५ किलोमिटर सडक निर्माण तथा स्तरोन्नती गरिने र काठमाडौँको लप्सीफेदीदेखि बुटवल हुँदै गोरखपुर सम्मको विद्युत प्रसारण लाईन निर्माण गरिने स्पष्ट पारे ।

एमसीसी आउनेबित्तिकै अमेरिकी सेना नेपाल आएर बम बारुद गर्छ भन्ने कुरा भ्रमपुर्ण रहेको सांसद लोहनीले बताए । एमसीसीमा कुनैपनि सैन्य सम्झौता नभएको बताए । सम्झौताहरु कुनैपनि नेपालको विपक्षमा नरहेको र नेपालकै कानुनबमोजिम चल्ने स्पष्ट पारे । औपचारिक रुपमा सन् २०१७ मा सम्झौता भएको र हालसम्म करिब ८० प्रतिशत प्रकृया पुरा भइसकेको बताए । परियोजना समयमै सम्पन्न गर्नुपर्ने भएको कारण कुनैपनि वाधा अवरोध नहोस् भनेर केही अन्तराष्ट्रिय सर्तहरु मात्रै राखिएको बताए ।

एमसीसीबाट अमेरिकासँगै भारतले पनि नेपालमाथि कब्जा जमाउन खोजेको भन्ने कुरा भ्रमपुर्ण रहेको सांसद लोहनीले बताए । उनले भारतको गोरखपुरमा विद्युत ट्रान्समिसन लाइन बस्ने र त्यहाँबाट नेपालले भारतलाई विद्युत बेच्ने भएपछि भारतको पनि सहमती आवश्यक हुने र सोहीअनुसार प्रकृया टुंग्याउन खोज्दा अनावश्यक भ्रम र अन्धविश्वास छरेर जनता भड्काउने काम गरेको आरोप लगाए ।

‘धादिङमा जाइका र जीटिजेडले विभिन्न विकास निर्माणका कामहरु गरेका छन्, एमसीसीपनि त्यस्तै हो’ सांसद लोहनीले भने, घरमा महिनावारी भएको सानी छोरीलाई गोठमा राख्ने अनि एमसीसीको विषयमा ठुलाठुला कुरा गर्दै हिड्ने ?’ उनले एमसीसी केही हदसमम्म अघि बढिसकेको बताए । धादिङको मलेखुमा बनेका ठुलाठुला विद्युत प्रसारण लाइनका ट्रान्समिसन टावरहरु एमसीसीकै पैसामा बनेको समेत खुलाएका छन् ।

सरकारले समृद्ध नेपाल सुखी नेपालीको अवधारणा अनुसार नै अन्तराष्ट्रिय सहयोग भित्र्याउँदै विकास निर्माणका कामहरुलाई तिब्र गतिमा अगाडी बढाउन लागेको सांसद लोहनीले बताए । यसमा एमसीसी परियोजनाले निकै ठुलो भुमिका खेल्ने उनको ठम्याई रहेको छ । विकास निर्माण पनि जनता सम्पन्न हुन्छन्, सचेत हुन्छन् र शक्तिशाली हुन्छन् भन्ने थाहा पाएर हिजो सत्ताको दुरुपयोग गरेर फाइदा लिनेहरु आफ्नो रजाई सक्किने डरले यसको विपक्षमा भ्रम फैलाएको उनले बताए । लोहनीले जसले जे भनेपनि एमसीसी आएरै छोड्ने दावि गरे ।

सिफारिस