सरकारी जग्गामा चौधरी ग्रुपको रजाईँ, गुठीको जग्गा समेत ‘कब्जा’

सरकारी जग्गामा चौधरी ग्रुपको रजाईँ, गुठीको जग्गा समेत ‘कब्जा’

काठमाडौँ, फागुन ५ । चौधरी ग्रुपले ललितपुर महानगरपालिकास्थित पुल्चोकमा रहेको सरकारी जग्गा कब्जा गरेको पाइएको छ । ललितपुर महानगरपालिका वडा नम्बर ३ पुल्चोकमा रहेको साझा पक्राशन अगाडिको र भूपू सैनिक संघसगँ जोडिएको सरकारी जग्गा चौधरी ग्रुपले कब्जा गरेको पाइएको हो ।

पुल्चोकबाट झम्सीखेल जाने सडकसँगै रहेको कित्ता नम्बर १६६, १६७, १६८, १७०, १७१, १७२ र १७३ नेवार समुदायको पुरानो गुठीसहित नगरपालिकाको नियन्त्रणमा रहेको सार्वजनिक जग्गा हो । कित्ता नम्बर ४५ र १६९ भने पुल्चोकबाट झम्सीखेल जाने मुख्य सडक हो ।

गुठीको नाममा रहेको उक्त जग्गामध्ये कित्ता नम्बर १६८, १७२ र १७३ चौधरी ग्रुपले १०६७ देखि २०६८ सालको अवधिमा कब्जा गरी हिमालयन ट्रस्टको नाममा ल्याएको छ । कित्ता नम्बर १६६, १६७, १७० र १७१ भने हालसम्म पनि गुठीकै नाममा रहेको छ । २०६४ सालमा तत्कालीन ललितपुर नगरपालिकाले उक्त सरकारी जग्गामा बनाइएका अव्यवस्थित घरटहराहरु भत्काएको थियो ।

नगरपालिकाले अस्थायी टहरा भत्काएपछि उक्त जग्गाबारे विवाद भई मुद्दा चलेको थियो । जग्गाबारे मुद्दा चलिरहेको अवस्थामा चौधरी ग्रुपले अदालत, मालपोत, भूमिसुधार मन्त्रालय, नगरपालिकालगायत सम्बन्धित सबै निकायलाई आर्थिक प्रलोभनमा पारी उक्त जग्गा ट्रस्टको नाममा ल्याएको हो ।

गुठीको नाममा रहेको उक्त सार्वजनिक जग्गा पूर्वी मुख्य सडकसँग जोडिएको र पश्चिम भूपू सैनिक संघसँग जोडिएको चौधरी ग्रुपले ट्रस्टको नाममा ल्याएको छ भने बीच भागमा रहेको जग्गा गुठीको नाममा नै रहेको छ । आर्थिक दैनिकबाट ।

Trending News