महरा निर्दोष ठहरेपछि रोशनी भन्छिन्,‘उहाँलाई पतन गराउने षडयन्त्र थियो, अदालतलाई धन्यवाद’ !

दियो पोस्ट  

काठमाडौं, ५ फागुन । संसद सचिवालयकी कर्मचारी रोशनी शाहीमाथि बलात्कार प्रयास गरेको अभियोगमा जेल जीवन विताइरहेका पूर्व सभामुख कृष्ण बहादुर महरालाई जिल्ला अदालत काठमाडौंले निर्दोष ठहर गरेको छ ।


महरा प्रकरणमा पीडित भनिएकी रोशनीले नै जिल्ला अदालत काठमाडौंको फैसलालाई ‘धन्यवाद’ दिएकी छिन् ।


दियोपोस्टको सम्पर्कमा आएकी उनले महरालाई सफाई दिने अदालतको फैसलाले ‘न्याय जीवित रहेको’ सन्देश दिएको समेत बताइन् ।


‘अदालतले जे गरेको छ निकै राम्रो गर्यो । यो देशमा न्यायलय जीवित रहेछ भन्ने सन्देश दिएको छ । न्यायलय प्रति हाम्रो विश्वास बढेको छ,’ रोशनीले भनिन्,‘यहाँ घटनालाई राजनीतिकरण गरियो । यो सबैले बुझेकै कुरा हो । यो मैले भनिरहन पर्दैन ।’


उनले महरालाई पतन गराउने हिसाबले षडयन्त्र भएको समेत खुलाशा गरिन् ।


‘उहाँलाई पतन गराउने षडयन्त्र थियो । जतिसुकै षड्यन्त्र गरेपनि सत्य र न्यायको जीत हुन्छ भन्ने अदालतको आदेशको सन्देश हो,’ रोशनीले भनिन्,‘आम सञ्चार माध्यमले पनि कति धेरै उचालेको थियो । यतिसम्म गरियो की गर्नुसम्म हर्कत गरियो । सुन्न बाँकी र भन्न बाँकी केही पनि छैन ।’


महरामाथि लागेको दागको विषयमा प्रश्न गर्दा उनी दाग नै नलागेको बताउँछिन् ।


‘उहाँमाथि दाग लागेको होइन । अर्काले थोपरदिएको दाग हुन् । उहाँ आफैले लगाउनु भएको होइन । अर्काले थोपरिदिएको दागलाई दाग भनिँदैन । त्यो मेटाउन सकिन्छ । आफैले मेटाउन पर्छ । हाम्रो सेटो कपडामा लागेको दाग आफैले धोई पखाली मेटाउने हो,’ उनले भनिन्,‘म अदालत गएको थिइन । तर, सम्मानित अदालतले गरिमा राख्यो । धन्यवाद दिन चाहान्छु । आगामी दिनमा निष्पक्ष न्याय निसाफ गरोस् भन्ने मेरो कामना छ ।’


सोमबार जिल्ला अदालत काठमाडौंका मुख्य न्यायधीश अम्बर राज पौडेलको इजलाशले महरालाई निर्दोष रहेको भन्दै सफाई दिने फैसला गरेको हो । सफाई पाएका महरा आजै कारागार मुक्त हुने जनाइएको छ ।