बैंकका कर्मचारीद्वारा देउसी खेलेको पैसाबाट बिद्यालयमा खेलकुद तथा शैक्षिक सामाग्री बितरण

दियो पोस्ट  

बुटबल । कृषि बिकास बैंक रुपन्देही शाखाका कर्मचारीहरुले देउसी खेलेर जम्मा गरेको रकमबाट बिद्यालयलाई खेलकुद तथा शैक्षिक सामाग्री बितरण गरेका छन् । २०७६ सालको देउसी भैलो कार्यक्रमबाट संकलित सहयोग रकमबाट गुल्मी जिल्लाको मदाने गाउंपालिका वार्ड नं. ७, सुज्र्याङ्गमा रहेको ‘सुज्र्याङ्ग आधारभुत प्राथमिक बिद्यालय’ लाई खेलकुद तथा शैक्षिक सामाग्री प्रदान गरिएको हो ।

बिद्यालयका बालबिकास देखि ५ कक्षा सम्मका ५५ जना बिद्यार्थिलाई खेलकुद पोषाक प्रदान गरिएको कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका बरिष्ठ ब्यबसाय अधिकृत श्री अनिल भुसालले जानकारी दिए । सोही कार्यक्रममा बिद्यालयले समेत आफ्ना अग्रजहरुलाई सम्मानको कार्यक्रम राखेको थियो ।

बैंकले सोही गाउपालिका वार्ड न. २ को कार्यालयमा मालिका साना किसान सहकारी संस्थाका सदस्यहरुलाई १ दिने बित्तीय साक्षरता,बालि तथा पशु बिमा अभिमुखीकरण कार्यक्रम समेत सम्पन्न गरेको छ ।

कार्यक्रममा बोल्दै नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का युवा नेता प्रेम घिमिरेले युवाहरुलाई समेटेर बैंकले अझै उत्पादनशिल कार्यक्रम संचालन गरेर स्वदेशमै रोजगारी सिर्जना गर्नुपर्नेमा जोड दिए । उनले सरकारको समृद्धिको नारालाई सार्थकता दिनका लागि यस्ता खाले कार्यक्रम सबै गाउँपलिकामा हुनु पर्ने बताए ।

कार्यक्रममा बोल्दै वार्ड नं. ७ का अध्यक्ष काशि बहादुर बोहोराले कृषि बिकास बैंक कर्मचारी संगठनले गरेको कार्यको उच्च मुल्यांकन गर्दै सरकारले गर्नुपर्ने कार्य संगठनले गरेकोमा आभार व्यक्त गरे । त्यस्तै, बिद्यालय निरीक्षक हरिहर बेल्वासे, व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद पन्थी, शिक्षक महासंघ मदानेका अध्यक्ष बोम बहादुर कुंवर लगायतले बिकट ठाउमा आएर विदाको समयमा घर परिवार संग रमाईलो नगरी देउसी भैलो खेलेर उठेको रकमबाट संस्थागत सामुदायिक उत्तरदायित्व कार्यक्रम गरेकोमा आभार प्रकट गरे ।

कर्मचारी संगठनद्वारा प्रदान गरीएको पोषाक पाउँदा बिद्यार्थी तथा अभिभावकहरुले खुसी ब्यक्त गरे ।

कार्यक्रममा बिद्यालय निरीक्षक हरिहर बेल्बासे, बिद्यालय व्यवस्थापन समितिका अध्यक्ष यम प्रसाद पन्थी, प्रधानाध्यापक शिवहरी पन्थी, संगठनका प्रदेश सदस्य मिन प्रसाद पौडेल, नर बहादुर थापा र संगठनका जिल्ला समिति गुल्मीका अध्यक्ष ओब बहादुर डांगी लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो ।

साक्षरता कार्यक्रम संचालन

ग्रामिण भेगका जनतालाई बैंकका बारेमा जनचेतना फैलाउने उद्धेश्यका साथ कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाले यही फागु्न ६ गते वित्तीय साक्षरता सम्बन्धि कार्यक्रम सम्पन्न गरेको छ । कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका बरिष्ठ ब्यबसाय अधिकृत अनिल भुसालले वित्तीय साक्षरताको बारेमा कक्षा संचालन गरेका थिए ।

‘ग्रामिण भेगका जनतालाई बैंक भनेको के हो? यसले के काम गर्छ? जनताले बैंकबाट के कसरी र कस्ता सुविधाहरु प्राप्त गर्न सक्छन’ भन्ने बारेमा कक्षा संचालन गरिएको अधिकृत भुसालले बताए । कार्यक्रममा सहकारीमा आवद्ध करिब १६५ महिलाहरुको उपस्थिति रहेको थियो ।

कृषि विकास बैंक प्रदेश कार्यालय भैरहवाका ऋण अधिकृत विनोद के.सी.ले बालि तथा पशु विमा अविमुखीकरण तालिम संचालन गरेका थिए ।

ट्रेन्डिङ

ट्रेन्डिङ खबर उपलब्ध छैन।