महाधिवेशन नजिकिँदै गर्दा ‘रअ’को आशिर्वाद लिन काँग्रेस शीर्ष नेताहरुको दौडधुप !

दियो पोस्ट  

काठमाडौं । नेपाली कांग्रेसको १४औं महाधिवेशनको मिति घोषणा हुनासाथ नेतृत्व लिनका लागि हानाथाप र दौडधुप शुरु भएको छ । नेताहरुको यो दौडधुप पार्टी नेता र कार्यकर्तासमक्ष नभएर विदेशी दूतावास र छिमेकी मुलुकतर्फ लम्किएको छ । ‘बोलायो न सोलायो, लिँडे पुछर डोलायो’ भने झैं कुटनीतिक मर्यादा र आचरणलाई ख्याल नै नगरी व्यक्तिगत र संस्थागत निमन्त्रणामा मित्रराष्ट्र भारतको भ्रमण गर्ने र सत्तारुढ दलका नेतासँग भेटेर भक्तिभाव प्रदर्शन गर्ने प्रथा कांग्रेस नेताहरुले देखाउन थालेका छन् । यहाँसम्मकी व्यक्तिगत भ्रमण र उपचारको नाममा भारत जाने र भारतीय सरकारका मन्त्रीलाई भेटेर फोटो हाल्ने चलनले कांग्रेसलाई नेतृत्व दिन्छु भन्ने नेताको अविगत हेरेर कांग्रेसका केही नेता भने लाजले जिब्रो टोक्न थालेका छन् ।

सभापति शेरबहादुर देउवासँग नेतृत्वको लागि प्रतिष्पर्धा गरेका पूर्वसभामुख रामचन्द्र पौडेलले समेत पार्टीका शीर्ष नेतालाई आफू उपचार गर्न भन्दै भारत गएर भारतीय विदेश मन्त्रीसँग भेटेर आएका छन् । भारतीय विदेशमन्त्री जसवन्त सिंहलाई भेटेर फोटो खिचाएका पौडेलले कांग्रेसका शीर्ष नेताहरुसँग भने आफू प्रेसर बढेर उपचारको लागि नयाँदिल्ली गएको बताउने गरेका छन् । नेपालमा असाध्य रोगको उपचार पनि सम्भव भएको बेला किन नयाँ दिल्ली नै जानु प¥यो भनेर सभापति देउवाले सोध्दा समेत पौडेलले प्रेसरको उपचारका लागि गएको बताएका थिए ।

यता फागुनको पहिलो साता नै कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले भारतको उत्तरप्रदेशका मुख्य मन्त्री योगी आदित्यनाथसँग भेट गरेका थिए । डा.शशांकले संयुक्त राज्य अमेरीकासँग राम्रो सम्वन्ध भएका कांग्रेस केन्द्रीय सदस्य डा. मिनेन्द्रप्रसाद रिजाल र भारतका लागि पूर्वराजदूत दीपकुमार उपाध्यायलाई समेत सँगै लिएर गएका थिए । भेटमा डा. कोइरालाले आफू हिन्दुवादी भएकोले कांग्रेसको आगामी महाधिवेशनमा जसरी पनि नेतृत्वमा पुग्ने वातावरण बनाउन आग्रह गरेका थिए ।

उता पौडेलले भने आफू कोइराला परिवारका सदस्यहरु बीपी, गिरिजाप्रसाद, शुशील कोइरालाको उत्तराधिकारी भएको भन्दै आफू कट्टर हिन्दुवादी भएको दाबी गरेका थिए । उता, उपसभापति विमलेन्द्र निधिले आफू भारतीय स्वतन्त्रता संग्रामका नायक तथा अहिंसावादी नेता महात्मा गान्धीको अनुयायी भएको भन्दै भारतीय कांग्रेस आई र भारतीय जनता पार्टीका नेताहरुलाई बोलाएर नेपालमै कार्यक्रम गर्दै आएका छन् । उनले सभापति देउवा विवादीत भएको, उमेरले ७३ काटेको, चार वर्षे कार्यकालमा निर्विवाद काम गर्न नकसेकोले अभिभावकको भूमिकामा बस्न देउवालाई आग्रह गर्दै आफू नै सभापतिमा उम्मेदवारी दिने हल्ला गरेका छन् । उनले देउवालाई अमेरिकन पक्षधर भन्ने आरोप लागेको तर आफूलाई भारतीय संस्थापन पक्षको समर्थन रहेको भन्दै सभापतिमा उम्मेदवारी दिने बचन दिएका छन् ।

राजधानी काठमाडौंमा ४÷४ वटा अनलाईन न्युज पोर्टलमा लगानी गरेका निधिले धनुषामा पनि एक रेडियो, एक दैनिक र एक साप्ताहिकमा लगानी गरेको चर्चा कांग्रेस केन्द्रीय कार्यालय सानेपामा चल्ने गरेको छ । निधिले विधान विपरित कांग्रेसको केन्द्रीय नीति तथा अनुसन्धान प्रशिक्षण प्रतिष्ठानको नाममा देशव्यापी मात्र होइन, विदेशमा पनि प्रशिक्षण दिँदै आएका छन् । कांग्रेसका नेताहरु कृष्णप्रसाद सिटौला, महामन्त्री पूर्णबहादुर खड्का, डा. शेखर कोइरालाले भने भारतीय कांग्रेस आईका नेताहरु, भारतीय जनता पार्टीका नेताहरु, दूतावासका कर्मचारी र कुटनीतिज्ञसँग अनौपचारिक सम्वन्ध बढाउँदै गएका छन् । कांग्रेसमा सिटौला, शेखर र पूर्णबहादुरपछि अर्जुननरसिंह केसीलाई भारतीय पक्षले बढी विश्वास र भर गर्ने गरेको छ । भारतको जवाहरलाल नेहरु विश्लविद्यालयमा विद्यावारिधि गरेका डा. अमरेसकुमार सिंह भने देउवा र पौडेल दुवै जना आफ्नो नेता हुन नसक्ने भन्दै भारतीय पक्षसँग लविङ गरिरहेका छन् । बिहीबारको युनाइटेड पोस्ट साप्ताहिकले समाचार लेखेको छ ।