संचारमन्त्री गोकुल बास्कोटाले दिए राजिनामा

दियोपोस्ट संवाददाता

काठमाडौँ, फागुन ८ । सुचना तथा संचार प्रविधिमन्त्री गोकुल प्रसाद बास्कोटाले पदबाट राजिनामा दिएका छन् । कमिशनको बार्गेनिङ गरेको अडियो सार्वजनिक भएपछि मन्त्री बास्कोटाले मन्त्री पदबाट राजिनामा गरेका हुन् ।

बिहीबार प्रतिनिधि सभाका सभामुख अग्नी प्रसाद सापकोटाले सदनमा जानकारी गराउँदै संचारमन्त्री बास्कोटाले राजिनामा दिएको बताएका हुन् । प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेसले संचारमन्त्रीको राजिनामा माग गर्दै राष्ट्रिय सभा र प्रतिनिधि सभा वैठक अवरुद्ध गरेका थिए । मन्त्रीले राजिनामा दिइसकेको कुरा सभामुखले सांसदहरुलाई जानकारी दिएका छन् ।

बिहीबार बिहान लिक भएको अडियो रेकर्डमा संचारमन्त्री बास्कोटाले करोडौँ रुपैयाँको कमिशन डिल गरेका थिए । सरकारको गम्भिर विषय आइसकेपछि प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीका कार्यकारी अध्यक्ष प्रचण्डलाई यसबारे छलफल गर्नका लागि आकस्मिक रुपमा बालुवाटार बोलाएका थिए ।

छलफलको क्रममा पार्टी अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीसमक्ष मन्त्रीलाई राजिनामा गराउन सुझाव दिएका थिए । त्यसपछि प्रधानमन्त्री ओलीले छलफलका लागि भन्दै संचार मन्त्री बास्कोटालाई बालुवाटार बोलाएका थिए ।

त्यसलगत्तै मन्त्री बास्कोटाले पदबाट राजिनामा दिएको स्रोतले बताएको छ । उनले राजिनामा गरेको औपचारिक पत्र भने सार्वजनिक भइसकेको छैन ।

सम्बन्धित खबर

सिफारिस