काठमाडौँ, फागुन ८ । राष्ट्रपति विद्यादेवी भण्डारीले संचार तथा सुचना प्रविधि मन्त्री गोकुल प्रसाद बास्कोटाले दिएको राजिनामा पत्र स्वीकृत गरेकी छन् । बिहीबार प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा राष्ट्रपति भण्डारीले राजिनामा पत्र स्वीकृत गरेकी हुन् ।
बास्कोटाको राजिनामा सँगै संचार तथा सुचना प्रविधि मन्त्रालयको जिम्मेवारी अर्थमन्त्री रहेका डा. युवराज खतिवडालाई दिइएको छ । बास्कोटाले नै सम्हाल्दै आएका शहरी विकास मन्त्रालयको जिम्मेवारी भने भौतिक पुर्वाधारमन्त्री बसन्तकुमार नेम्वाङलाई दिइएको छ ।
‘संचार तथा सुचना प्रविधि मन्त्री र शहरी विकास मन्त्री गोकुल प्रसाद बास्कोटाले संविधानको धारा ७७ को उपधारा २ को खण्ड (क) बमोजिम आफ्नो पदबाट राजिनामा दिनुभएकोले सम्माननीय प्रधामन्त्रीको सिफारिसमा नीजले सम्हाल्दै आउनुभएको संचार तथा सुचना प्रविधि मन्त्रालयको कार्यभार माननीय अर्थमन्त्री डा. युवराज खतिवडाले र शहरी विकासको मन्त्रालयको कार्यभार माननीय भौतिक पुर्वाधार तथा यातायात मन्त्री बसन्तकुमार नेम्बाङले सम्हाल्ने गरि तोक्नुभएको छ ।’ राष्ट्रपति कार्यलयबाट जारि विज्ञप्तीमा उल्लेख गरिएको छ ।

सेक्युरिटी प्रिन्टिङ प्रेस खरिदका विषयमा स्वीस कम्पनीका एजेन्टसँग कमिसनका विषयमा छलफल भएको अडियो सार्वजनिक भएपछि बास्कोटाले बिहीबार नै प्रधानमन्त्रीलाई राजीनामा बुझाएका थिए ।
ट्रेन्डिङ खबर उपलब्ध छैन।