काठमाडौँ, फागुन ९ । शिवरात्रीको दिनमा पशुपती क्षेत्रमा सुरक्षा व्यवस्था कडाई गरिएको छ । पशुपती क्षेत्र विकास कोषका अनुसार भक्तजनको सुरक्षा र शान्तपुर्वक दर्शन गर्ने व्यवस्थाका लागि सादा पोशाकमा प्रहरीहरु परिचालन गरिएको छ । कोषका कार्यकारी निर्देशक घनश्याम खतिवडाका अनुसार पशुपती क्षेत्रमा ६ हजार भन्दा बढी सादा पोशाकका प्रहरी परिचालन गरिएको छ ।
भक्तजनहरुको अत्याधिक भीड लाग्ने भएको कारण उनिहरुको सुरक्षाको ध्यान राख्दै प्रहरी परिचालन गरिएको निर्देशक खतिवडाले बताएका छन् । पर्वको नाममा हुने गरेको विकृतीलाई नियन्त्रण गर्नका लागि पनि प्रहरी र गुप्तचरहरु परिचालन गरिएका छन् । विशेषगरि शिवरात्रीमा पशुपती क्षेत्रमा गाँजाको कारोबार र सेवन दुबै अत्याधिक रुपमा हुन थालेपछि केही बर्ष अगाडीदेखि गाँजा निषेधित गरिएको थियो । तर, पुर्ण रुपमा नियन्त्रण भने हुन सकेको छैन । सोहीका लागि समेत धेरै संख्यामा सादा पोशाकका प्रहरी परिचालन गरिएको उनले बताए ।
५ हजार भन्दा बढी संख्यामा साधुसन्त
कोषका निर्देशक खतिवडाका अनुसार आजको दिन पशुपती क्षेत्रमा ५ हजार भन्दा बढी संख्यामा साधुसन्तहरुको उपस्थिती रहेको छ । नेपाल र भारत सहित अन्य क्षेत्रका शिवभक्त साधुहरुको उपस्थिती रहेको छ ।
उनिहरुको आवास र भोजनका निम्ति पशुपती क्षेत्र विकास कोषले विशेष व्यवस्था गरेको छ ।
बाबालाई गाँजाकै पीर
शिवभक्त बाबाहरु गाँजा पारखी हुन् । उनिहरु २४ घण्टा गाँजाको नसामा हुने गर्दछन् । पशुपती क्षेत्र विकास कोषले गाँजालाई प्रतिवन्ध गरेपछि बाबाहरु प्रहरीको आँखा छलेर गाँजा सेवन गर्ने गरेको देखिन्छ ।
साधुसन्तहरुले शिवरात्रीमा गाँजाको कारोवार समेत गर्ने गर्दथे । दर्शनका लागि पशुपती पुगेका युवाहरु तीनै बाबा बाट गाँजा खरिद गर्दथे । तर पशुपती क्षेत्र विकास कोषले कडाईका साथ गाँजा प्रतिवन्ध गरेपछि साधु सन्तहरु समेत लुकीछिपी सेवन गर्ने गरेका छन् ।