आयल निगममा ‘अयोग्य’लाई कार्यकारी निर्देशक नियुक्त गर्ने खेल, सुटुक्क निर्देशिका परिवर्तन !

diyopost.com
दियो पोस्ट  मंगलबार, फाल्गुण ०३, २०७८ | २३:००:१५

काठमाडौं । नेपाल आयल निगमको कार्यकारी निर्देशकमा अयोग्य व्यक्तिलाई नियुक्त दिलाउन सुटुक्क निर्देशिका नै परिवर्तन गरेको खुलाशा भएको छ । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री समेत रहेका प्रधानमन्त्री शेर बहादुर देउवाले कांग्रेस निकट व्यक्तिलाई कार्यकारी निर्देशक नियुक्त गर्न निर्देशिका नै परिवर्तन गरेको पाइएको हो ।

परिवर्तित निर्देशिकामा ‘सुटुक्क’ ‘इन्जिनियर’ शब्द घुसाइएको छ । यसअघि तत्कालिन केपी ओली सरकारले पनि कार्यविधि परिवर्तन गर्दै आफू अनुकुल व्यक्तिलाई नियुक्ती गर्दै आएको थियो । यसअघि उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जारी गरेको,‘उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय सम्बद्ध सार्वजनिक निकायको पदाधिकारी नियुक्ती र मनोनयन सम्बन्धी निर्देशिका, २०७७’ लाई सुटुक्क संशोधन गरेर ‘२०७८’ जारी गरिएको हो ।

यसअघिको निर्देशिकाको दफा ३ ख मा कार्यकारी प्रमुखको योग्यता सम्बन्धी व्यवस्थालाई सुटुक्क परिवर्तन गरिएको हो । यसअघिको निर्देशिकाको उक्त दफामा ‘ कार्यकारी प्रमुखको लागि सम्बन्धित सार्वजनिक निकायको कार्य प्रकृतिसँग सम्बन्धित विषय वा प्रशासन व्यवस्थापन अर्थशास्त्र वा कानुनमा मान्यता प्राप्त विश्व विद्यालयबाट कम्तिमा स्नातकोत्तर उत्तिर्ण गरेको र कुनै संस्था वा निकायमा व्यवस्थापकको हैसियतले कम्तीमा ५ वर्षको कार्यअनुभव हासिल गरेको’ भन्ने उल्लेख थियो ।

 

हालै सरकारले जारी गरेको निर्देशिका २०७८ मा ईन्जिनियरिङ शब्द घुसाइएको छ । यो शब्द कांग्रेस निकट सिडेन नामक संस्थाका अध्यक्ष इन्जिनियर उमेश प्रसाद थानीकै लागि घुसाइएको स्रोतको दाबी छ । तर, तत्कालि केपी ओली सरकारले यो शब्द हटाएर निर्देशिका परिवर्तन गरेको कारण पुरानै निर्देशिका जारी गरिएको समेत अर्को पक्षको बुझाई छ ।

 

यद्धपी हाल जारी भएको निर्देशिका अनुसार थानीको योग्यता नपुग्ने मन्त्रालयकै उच्च अधिकारी बताउँछन् । गत पुस २५ गते प्रकाशित सुचना पनि सोही निर्देशिका अनुसार नै जारी गरिएको छ ।

निर्देशिकामा इन्जिनियरिङ शब्द घुसाइएपनि कार्याअनुभवको आधारमा उनको योग्यता नपुग्ने स्रोतको दाबी छ । उनले नेपाल इन्जिनियरिङ एशोशियशनको निर्वाचनमा आफ्नो चुनावी प्रचार सामग्री बनाएका थिए । सोही सामग्री अनुसार उनको व्यावसायीक परिचयमा उनी नेपाल इन्जिनियरिङ काउन्सिलको रजिष्टार, पोखरा विश्व विद्यालयको विषय समिति सदस्य, सेभ द चिल्ड्रेन नामक एनजिओको क्षेत्रीय इन्जिनियर, नेपाली कांग्रेसको महासमिति सदस्य लगायत राजनीतिक परिचय उल्लेख गरिएको छ । त्यस्तै नेपाली कांग्रेस निकट संस्था सेन्टर फर डेमोक्रयाटिक इन्जिनियर्स नेपाल सिडेनको अध्यक्षको उम्मेदवारको रुपमा भोट माग्दा भने उनले नेपाल विद्युत प्राधिकरणको बोर्ड सदस्य, नेपाल इन्जिनियर्सको एशोसिएशनको पूर्व महासचिव इन्जिनियर काउन्सिलको पूर्व रजिष्टार र एभरेष्ट इन्जिनियर कलेजको प्रिन्सिपल हुँ भन्दै भोट मागेका थिए ।

नेपाल आयल निगमको कार्यकारी निर्देशक हुनका लागि दौडधुपमा रहेका थानीको यो कार्याअनुभव निर्देशिकाले निर्धारित गरेको मापदण्ड अनुसार नपुग्ने मन्त्रालयकै एक अधिकारी बताउँछन् । ‘५ वर्ष कुनै संस्थाको व्यवस्थापकिय जिम्मेवारीमा रहेको भन्नुको व्यावस्थापकिय नेतृत्वमा रहेको कार्यानुभव भन्नु हो,’ ती अधिकारीले भने,‘कुनै निजि कलेजको पूर्व प्रिन्सिपललाई त्यही अनुभवको आधारमा नियुक्ती दिइयो भने त्यो विडम्बना हुन्छ ।’

स्रोतका अनुसार थानीलाई नियुक्ती दिलाउन आयल निगमकै केन्द्रीय कार्यालय भवनको ठेक्का हात पार्ने समानान्तर निर्माण सेवाका मालिक अच्युतकृष्ण खरेल लागि परेका छन् । खरेलकै आडमा उनले आफ्नो नियुक्ती पक्का भएको र आफ्नै लागि निर्देशिका नै परिवर्तन भएको आफू निकटहरुलाई बताउँदै आएका छन् ।

 

सम्बन्धित खबर