काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको आन्तरिक टर्मिनल भित्र एक एयरलाइन्स कम्पनिका कर्मचरीले सर्वसाधरण यात्रुमाथि निर्घात कुटपीट गरेका छन् । कुटपीटको भिडियो समेत सामाजिक सञ्जलमा भाइरल भएको छ ।
घटना सोमबारको हो । काठमाडौंबाट नेपालगञ्जको लागि उडान तयारी रहेको श्री एयरलाइन्सको टिकट काटेका यात्रुमाथि विमानस्थलमै रहेका श्री एयरलाइन्सका कर्मचारीले कुटपीट गरेका हुन् । भिडियोमा देखिए अनुसार एयरलाइन्सका कर्मचारीले नेपाली सेनाका एक उच्च अधिकारीलाई समेत हातपात गरेका छन् ।
बोर्डिङ पास लिइसकेका एक यात्रुलाई एयरलाइन्सका एक महिला कर्मचारीले ‘उहाँलाई होल्ड गर्नुस्’ भन्दै रोक लगाएकी थिइन् । ‘मलाई दुर्व्यावहार गरेपछि मैले उनीहरुले दिएको टिकट त्यहीँ टेबलमा छाडिदिएँ । मेरो भाइले के भयो भनेर सोध्न आएको थियो । त्यहीँका कर्मचारीलेय पछाडीबाट हात हाल्न शुरु गरिहाल्यो,’ एयरलाइन्सको कर्मचारीबाट पीडित भएका दिपेन्द्र विष्टले दियोपोस्टसँग भने,‘त्यसपछि उनीहरु सबै कर्मचारी मिलेर कुटपीट गर्न थाले । म्यानेजर समेत हामीलाई कुट्न आए । कुटपीटपछि हामी सामान्य घाइते समेत भएका छौँ ।’ कर्मचारीको दुर्व्यावहार पछि विष्टले बेलुका ६ बजेर १० मिनेटमा बुद्ध एयरको उडानबाट नेपालगञ्ज गएको बताए ।
श्री एयरलाइन्सले ती यात्रुबाट ४३ सय रुपैयाँ असुले पनि उनको रकम भने फिर्ता गरेको छैन । ‘मैले टिकट फिर्ता गरिदिएँ । त्यसपछि मैले टिकट र पैसा नै फिर्ता पाएको छैन,’ विष्टले भने,‘हामीमाथि सेवा प्रदायक कम्पनिबाट यस्तो दुर्व्यावहार भयो ।’
@diyopostविमानस्थलमा श्री एयरलाइन्सका कर्मचारीको दादागिरी : यसरी कुटिए यात्रु ! (भिडियोसमेत)
विष्टका अनुसार एयरलाइन्सका कर्मचारी विरुद्ध उनीहरुले उजुरी दिने तयारी समेत गरेका छन् । घटनामा समलग्न भएका श्री एयरलाइन्सका विमानस्थल प्रमुख नवराज गिरीले फोन उठाएनन् ।
श्री एयरलाइन्सको मुख्य कार्यालयमा फोन गर्दा शुरुमा एलिजा पौड्यालले फोन उठाइन् । तर, घटनाबारे आफूहरु अनभिज्ञ रहेको उनको दाबी थियो ।
केहीबेरपछि श्री एयरलाइन्सको नम्बरबाट दियोपोस्टकर्मीको नम्बरमा फोन आयो । फोन गर्ने ती व्यक्तिले यात्रुहरुले नै आफ्ना कर्मचारीमाथि हातपात गरेको आरोप लगाए ।