यस्तो छ बैंक लुटेरालाई पर्यटन बोर्ड सदस्य नियुक्त गरेको पत्र : रिजालको भूमिका शंकाष्पद !

diyopost.com
दियो पोस्ट  शुक्रबार, फाल्गुण १३, २०७८ | १७:१२:३३

 

काठमाडौं । आधा दर्जनभन्दा बढी बैंक लुटेको अभियोगमा जेल सजाय भोगेका लिला बहादुर लामालाई पर्यटन मन्त्री प्रेम बहादुर आलेले पर्यटन बोर्डको सदस्य नियुक्त गरिदिए । यद्धपी गत फागुन ११ गते मन्त्रिस्तरको निर्णयको आधारमा मनोनित भएका लामाको नियुक्तीबारे पर्यटन मन्त्रालयले गुपचुप राखेको छ ।

लामाको नियुक्तीबारे पर्यटन मन्त्रालयकै सहसचिव तथा प्रवक्ता टोकराज पाण्डेलाई थाहा समेत नभएको उनको भनाई छ । ‘मलाई नियुक्ती पनि थाहा छैन । राजिनामा पनि थाहा छैन । तपाईंहरु नै अगाडी हुनुहुन्छ,’ उनको रुखो प्रतिक्रिया थियो ।

पर्यटन मन्त्रालयका सहसचिव होम प्रसाद लुइटेलको हस्ताक्षरमा लामालाई गत फागुन ६ गतेको मितिमा नियुक्ती दिइएको पत्र नै दियोपोस्टले फेला पारेको छ । तीन वर्षे कार्यकालका लागि बोर्ड सदस्य नियुक्त भएका लामालाई बोर्डकै उपाध्यक्ष चन्द्र रिजालको सेटिङमा भित्र्याइएको हो । बोर्ड भित्र रिजालले आफू अनुकुल निर्णय गराउनका लागि आपराधीक पृष्ठभूमिका व्यक्तिलाई मनोनयन सिफारिस गरेको स्रोतले जनायो ।

 

पर्यटन प्रबद्र्धनमा कुनै भूमिका नभएका लामा आपराधिक पृष्ठभूमिका व्यक्ति हुन् । नेपाल पर्यटन बोर्ड ऐन, २०५३ को परिच्छेद ३ को अनुच्छेद २ को छ मा बोर्ड सदस्यसम्बन्धी व्यवस्था छ । उक्त व्यवस्था अनुसार पर्यटन, प्रवद्र्धन गर्ने कार्यमा संलग्न रहेको पर्यटन व्यावसायी, पर्यटन तथा प्राकृतिक एवं सांस्कृतिक सम्पदासँग सम्बन्धित विशेषज्ञहरु मध्येबाट सरकारले मनोनित गर्नुपर्नेछ । तर, विभिन्न आपराधीक घटनामा समलग्न रहेका लामालाई रिजालकै दबावमा सहसचिव होम प्रसाद लुइँटेलले नियुक्ती गरेका थिए । तर, एक टेलिभिजन अन्तर्वार्तामा आफूले सिफारिस नगरेको र मान्छे चिन्नु नै कसरी आपराधीक भयो भन्दै रिजालले नाटकीय प्रतिक्रिया दिएका छन् । ‘मान्छे चिन्नु नै अपराध हो भने मैले के भन्नु छ र । नियुक्ती गर्ने मन्त्रीले हो । सिफारिस समितिले सिफारिस गर्यो होला,’ रिजालले उक्त टेलिभिजनमा भनेका छन् ।

सामाजिक सञ्जालमा लामाले आफू विभिन्न व्यावसायीक घरानाको मालिक रहेको उल्लेख गरेपनि उनको विगत भने उनले भनेजस्तो छैन । उनले स्याकार कम्पनी, एभरेष्ट बैंक, कान्तिपुर फाइनान्स तथा गुडविल फाइनान्स लगायत आधा दर्जनभन्दा बढी वित्तिय संस्थामा लुटपाट गरेका थिए । २०६६ साउन ३० गते प्रकाशित कान्तिपुर दैनिकको साप्ताहिक पत्रिकामा लामाले त्यतिबेला लुटपाट गरेरै एक करोडभन्दा बढी रकम कमाएको उल्लेख छ । लुटपाट घटनामा तत्कालिन जिल्ला अदालत काठमाडौंको फैसला अनुसार २०६२ सालदेखि उनी जेलमा थिए ।

 


तर, जेलभित्रैबाट ब्राउन सुगरको धन्दामा उनी समलग्न रहेको अर्को तथ्य समेत भेटियो । जेलमा हुनुपर्ने कैदी लामा २०६७ सालमा दरबारमार्गको अन्नपुर्ण कफिसपबाट लागु औषध ब्राउनसुगर, २० लाख रुपैयाँ नगद र तीन वटा मोबाइल सहित पक्राउ परेका थिए । तत्कालिन काठमाडौं प्रहरी प्रमुख एसपी पुष्कर कार्की ९एआइजीबाट रिटायर्ड०ले त्यतिबेला मिडियामा दिएको सुचना अनुसार लामाको साथबाट १५ ग्राम ब्राउन सुगर फेला परेको थियो ।

जेलभित्र हुनुपर्ने कैदी लामाको साथबाट १५ लाख रुपैयाँ पर्ने गरगहना र इलेक्ट्रिक टेलिफोन डायरी समेत बरामद भएको थियो । जेल प्रशासनकै स्विकृतिमा सुरक्षागार्ड सहित निस्केको उनको साथमा कसरी लागु औषध, नगद, गरगहना र मोबाइलसहित भेटियो भन्ने विषयमा प्रहरी नै चकित भएको थियो । तत्कालिन एमाले निकट अनेरास्ववियुका कोषाध्यक्ष दीपक गौतमलाई उक्त रकम दिन लागेको अनुसन्धानमा खुलेको थियो । प्रहरीले त्यतिबेला गौतमलाई समेत पक्राउ गरेको थियो ।
गौतम र लामाबीच २०५८ सालदेखि नै दोस्ती थियो । प्रहरीले त्यतिबेला कान्तिपुर र सिप्रदी फाइनान्स लुटपाट घटनामा लामा र दीपक दुवैलाई खोजी गरेको थियो ।
विभिन्न लुटपाट घटनामा समलग्न रहेका टासीलाई त्यतिबेला बैंक अफ काठमान्डुको बौद्ध शाखा लुटेपछि २०६२ मा प्रहरीले पक्राउ गरेर मुद्दा लगाएको थियो । जिल्ला अदालत काठमाडौंले त्यतिबेला सुनाएको सजायको आधारमा उनी केन्द्रीय कारागारमा सजाय समेत कटिरहेका थिए । जेलबाटै त्यतिबेला व्यापारीलाई धम्काउने गरेको गुनासो समेत प्रहरीमा थियो । उनलाई जिल्ला अदालत काठमाडौंले १० वर्ष कैद सजाय फैसला गरेको थियो । तर, २०६७ साल फागुन ७ गते प्रजातन्त्र दिवसकै दिन पारेर उनलाई आममाफी दिएर जेलबाट छुटाइएको थियो ।

दियोपोस्टले खुलाशा गरेपछि लामाद्वारा राजिनामा !

लामाको आपराधीक पृष्ठभूमिबारे दियोपोस्ट डटकमले खबर प्रकाशन गरेपछि नियुक्तीको पत्र बुझ्न नपाउँदै राजिनामा दिएका छन् । उनलाई नियुक्ती गर्ने सहसचिव होम प्रसाद लुँइटेलले लामाले राजिनामा दिएको पुष्टि गरे । ‘संचार माध्यममा खबर आएपछि तत्कालै उहाँलाई बोलाएर राजिनामा दिन लगायौँ,’ लुइँटेलले दियोपोस्टसँग भने,‘उहाँले राजिनामा दिएर सनाखत पनि गर्नु भयो । अब उहाँ अदालत जान सक्नु हुन्न ।’

‘नियुक्ती भइसकेको थियो । फोटो पनि कसले खिचेको रहेछ । कित नियुक्ती रद्द गर्नुपर्यो कित तपाईंले राजिनामा दिनुपर्यो भन्ने कुरा हामीले गरेपछि उहाँले राजिनामा दिनु भयो । त्यो राजिनामा पनि तत्कालै स्विकृत भइसकेको छ,’ उनले भने,‘अरु कुरा छानबीन समितिले गरेको हो । म पनि नयाँ हो मलाई थाहा छैन ।’
लुइँटेलका अनुसार लामालाई पर्यटन मन्त्रालयले नै गठन गरेको समितिले सिफारिस गरेको थियो ।

‘उहाँहरुको भित्रीकुरा हामीलाई थाहा छैन । बायो डाटा संकलन गर्न निजी क्षेत्रका राजेन्द्र सापकोटा र माया शेर्पालाई जिम्मा दिएका थियौँ । उहाँहरुले नै बायोडाटा ल्याउनु भयो,’ लुइँटेलले भने,‘हामीकोमा राम्रो कुरा मात्रै आयो । पर्यटन व्यावसायी भएका कारण उपाध्यक्ष चन्द्र रिजालको अप्रत्यक्ष समलग्नता थियो की थिएन मलाई जानकारी भएन । तर, प्रत्यक्ष समलग्नता हामीले चाल पाएनौँ ।’

सम्बन्धित खबर