काठमाडौं । सोमबारबाट दुई कार्यकाल सम्पन्न गरेका निवर्तमान राष्ट्रपति विद्यादेवी भण्डारी पूनः सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिएको छ ।
राष्ट्रपति बन्नु अगाडी नेकपा (एमाले)को उपाध्यक्ष पदमा रहेका भण्डारीले राष्ट्रपतिको कार्यकाल समाप्त गरेर विदा भएसँगै उनि सक्रिय राजनीतिमा फर्किने चर्चा चुलिएको हो ।
नेकपा (एमाले)का वर्तमान अध्यक्ष केपी शमाृ ओलीले नै भण्डारीलाई पार्टीमा पुनः फर्किएर काम गर्न आग्रह गरेको हो ।
राष्ट्रपतिको भूमिका रहँदापनि भण्डारीले एमालेमा एउटा शक्तिशाली गुटको नेतृत्व गरेको आरोप थियो ।
एमालेले भण्डारीलाई वरिष्ठ उपाध्यक्ष बनाउनेगरि गृहकार्य थालेको छ । यसको लागि भण्डारीले भने अहिलेसम्म कुनै ठोस जवाफ नदिएको बुझिएको छ ।
कतिपयले भने उनलाई एमालेको राजनीतिमा सक्रिय हुँदै संसद्को यही कार्यकालको लागि यात्रा तय गर्न र मुलुककै पहिलो महिला प्रधानमन्त्री बन्न पनि सुझाव दिएका छन् ।
नेपालको पहिलो महिला राष्ट्रपति बनेर किर्तीमानी कायम गरेकी भण्डारीलाई एमाले नेताहरुले अब मुलुककै पहिलो महिला प्रधानमन्त्री बनाउनेगरि गृहकार्य थालेका छन् ।
कतिपयले त उनलाई आगामी बैशाख २ गते चितवन–२ मा हुने उपनिर्वाचनमा भाग लिन पनि प्रस्ताव गरेको बुझिएको छ । खासगरी एमालेका महिला नेतृहरुले पनि भण्डारीलाई पार्टीको सक्रिय राजनीतिमा सहभागी हुन जोड गरेका छन् ।
आज कार्यकाल समापनसँगै शितलनिवासबाट विदा भएर बालुवाटारस्थित् आफ्नी जेठी छोरी उषाकला भण्डारीको भाडाको घरमा सरेकी भण्डारीले भोलिबाट राजनीतिक भेटवार्ता गर्ने बताईएको छ ।
आजै उनको डेरामा पार्टीका नेता तथा कार्यकर्ताहरुको ठूलो पँक्ति स्वागतको लागि पुगेको थियो ।
उनी सक्रिय राजनीतिमा आउँछिन कि आउँदिनन् भन्ने कुरा भोलिको दिनले प्रष्ट नै पार्ला । तर, उनलाई सक्रिय राजनीतिमा आउन भने एमालेको ठूलो पँक्तिले दबाब सिर्जना गरेको साँचो हो ।
कतिपय नेताहरुले भने सार्वजनिक रुपमै भण्डारी सक्रिय राजनीतिमा आउने दाबी गरिरहेका छन् ।