छुट्टाछुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु

दियो पोस्ट  

काठमाडौं । छुट्टा छुट्टै सवारी दुर्घटनामा पाँच जनाको मृत्यु भएको छ । अछामको मेल्लेख गाउँपालिका–३ बुढाखोलास्थित से.२ त ४३३१ नम्बरको ट्याक्टर अनियन्त्रित भई आइतबार दिउँसो दुर्घटना हुँदा ट्याक्टरमा सवार एकजनाको मृत्यु भएको हो । मृत्यु हुनेमा मेल्लेख गाउँपालिका–३ बस्ने १५ वर्षीया मनिषा बुढाको घटनास्थलमै मृत्यु भएको छ । घटनापछि ट्याक्टर र चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यस्तै दाङको घोराही उपमहानगरपालिका–३ कुईरेपानीमा ट्रकले मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा प्युठान नौबहीनी गाउँपालिका–६ बस्ने ३२ वर्षीय राजन केसी रहेका छन् । ठक्करबाट गम्भीर घाइते भएका उनको राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा मृत्यु भएको हो ।
दुवै सवारी साधन र ट्रक चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

यता कैलालीको भजनी नगरपालिका–३ कुडि चोकमा ट्याक्टर अनियन्त्रित भई हिजो राति दुर्घटना हुँदा ट्याक्टरमा सवार एक जनाको मृत्यु भएको छ । भजनी नगरपालिका–१ ठेगरपुर बस्ने २८ वर्षीय टिकाराम चौधरीको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको प्राथमिक स्वास्थ्य केन्द्र भजनीमा उपचारको क्रममा मृत्यु भएको हो । चलक भने फरार भएका छन् । ।

यसैगरि बाराको सिम्रौनगढ नगरपालिका–९ वसवरियास्थित सडकमा पार्किङ गरी राखेको ट्याक्टरको ट्रलीमा मोटरसाइकल ठोक्किदा मोटरसाइकल चालकको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही नगरपालिका–८ कचोर्वा बस्ने ३५ वर्षीय बिगु जैसवाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका जैसवालको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको प्रादेशिक अस्पताल कलैयामा उपचार भइरहेको छ ।

यता सिरहाको गोलबजार नगरपालिका–१ गुरुधाम चोकमा मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा मोटरसाइकल चालकको मुत्यु भएको छ । मृत्यु हुनेमा अर्नामा गाउँपालिका–३ महनोर बस्ने ३६ वर्षीय चन्देश्वर पाल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको उपचारको लागि अस्पतालतर्फ लैजाने क्रममा बाटोमै मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार १ जनाको भुमिजा
अस्पताल गोलबजारमा उपचार भइरहेको छ ।