देवघाटस्थित आश्रमकी बालिकामाथि यौन दुर्व्यवहार

दियो पोस्ट  

चितवन । चितवनको देवघाटमा सञ्चालित रामजानकी बालिका आश्रममा आश्रित एक बालिकामाथि आश्रम सञ्चालिकाका श्रीमानले यौनजन्य दुर्व्यवहार गरेको घटना सार्वजनिक भएको छ ।

बालिकाले आश्रम सञ्चालिका सावित्रीदेवी टण्डनका श्रीमान कृष्णबहादुर टण्डनले आफूमाथि पटकपटक यौनजन्य दुर्व्यवहार गरेको आरोप लगाइएकी हुन् । कक्षा ११ मा पढ्ने १४ वर्षीया बालिकाका अनुसार कृष्णबहादुरले यौनजन्य दुर्व्यवहार पटक–पटक दोहोर्याएपछि आश्रमबाट भागेर गत फागुन १८ गते साथीको घरमा आश्रय लिएकी थिइन् ।

उनले आफूमाथि भएको दुर्व्यवहारबारे जानकारी दिँदा पनि आश्रम सञ्चालिका टण्डनले नसुनेको आरोप लगाइन् । उल्टै आफूलाई कागज गराइ टण्डनले फागुन १९ मा पारिवारिक पुनर्मिलन भन्दै मकवानपुरस्थित घर पु¥याएको पीडित बालिकाले बताइन् ।

घर पु¥याए पनि न्याय पाउनुपर्ने भन्दै चितवन फर्केकी उनले भरतपुर महानगरको बाल कल्याण अधिकारीसमक्ष न्याय मागेकी छन् । उनले हिम्मत गरेर फागुन २५ गते भरतपुर महानगरपालिकाका बाल कल्याण अधिकारीसमक्ष निवेदन दिई आफ्नो व्यवस्थापन गरिदिन अनुरोध गरेकी हुन् ।

त्यसपछि पनि दुर्व्यवहार प्रभावित बालिकालाई न्यायिक प्रक्रियामा लैजानुको सट्टा महानगरकी बाल कल्याण अधिकारी शान्ताकुमारी पौडेलको रोहवरमा यौनजन्य दुर्व्यवहारका आरोपित कृष्णबहादुर र आश्रम सञ्चालिका सावित्रीदेवीसहित राखेर भरतपुर महानगरमा छलफल गराइएको थियो ।

छलफलमा आफूमाथि पटक पटक कृष्णबहादुरले यौनजन्य दुर्व्यवहारसँगै बलात्कार प्रयाससमेत गरेको बालिकाले गुनासो गरिन् । उनले आफूमाथि भएको दुर्व्यवहारबारे सञ्चालक समितिका अन्य सदस्यले पनि विश्वास नगरेको पत्रमा उल्लेख गरेकी छन् ।

आरोपित ५७ वर्षीय कृष्णबहादुरलाई प्रहरीले पक्राउ गरेको छ । पीडित बालिका भरतपुरकै एक अल्पकालीन आश्रयस्थलमा छिन् । बालिका ११ वर्षदेखि उक्त आश्रममा बस्दै आएकी थिइन् । मकवानपुर घर भएकी उनको आमाको मृत्यु भएको र बाबु मानसिक समस्यामा रहेका छन् ।

जानकी आश्रमकी सञ्चालिका टण्डन भने बालिकालाई आफ्नो श्रीमानले केही नगरेको दाबी गर्छिन् । उनले बलात्कार प्रयास भएको भनिएको मितिपछि पनि पटकपटक आफ्नो श्रीमानसँग बालिकाले टिकटक बनाएको भन्दै झूटो आरोप लगाएको गुनासो गरिन् ।

तर, छोरीहरुले मायाले बुबा भन्ने भएकाले गालामा चुम्बन गर्नु भनेको सामान्य भएको सञ्चालिका टण्डनको दाबी छ ।

१३ वर्षदेखि सञ्चालनमा रहेको आश्रममा पीडितबाहेक ३५ जना बालिका आश्रित छन् ।