एकीकृत समाजवादीले तीन मन्त्रालय पाउने, को-को बन्दै छन् मन्त्री ?

दियो पोस्ट  

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले वर्तमान सरकारमा बढीमा तीन जना मन्त्री पाउने सम्भावना छ। मन्त्री हुन आधा दर्जन बढी नेताहरू आकांक्षी छन् । उपाध्यक्षहरू बेदुराम भुसाल, राजेन्द्र पाण्डे र उपमहासचिव प्रकाश ज्वाला पार्टीको नेतृत्व गरेर सरकारमा जान चाहिरहेका छन् ।

चैत ५ गते घनश्याम भुसाललाई महासचिव बनाउँदा वेदुराम भुसाललाई सरकारमा पार्टीको तर्फबाट नेतृत्व गरेर जाने आश्वासन पार्टी अध्यक्ष माधवकुमार नेपालले दिएको बताइन्छ । चैत ५ गतेसम्म वेदुराम एकीकृत समाजवादीका महासचिव थिए ।

अर्का उपाध्यक्ष पाण्डेले पनि सशक्त दाबी गरेका छन् । एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार भुसालकै नेतृत्वमा सरकारमा जाने सम्भावना धेरै छ । उपमहासचिव प्रकाश ज्वाला भने पार्टीको तर्फबाट नेतृत्व नपाए पनि सरकारमा जान तयार छन् ।

मन्त्री बन्नका लागि यी तीनसहित आधा दर्जनभन्दा धेरैले दाबी गरेका छन् । भानुभक्त जोशी, किसान श्रेष्ठ, धनबहादुर बुढा, प्रेम आले, मेटमणि चौधरीलगायत छन् । प्रतिनिधि सभामा एकीकृत समाजवादीका १० जना सांसद छन्। एकीकृत समाजवादीका प्रवक्ता जगन्नाथ खतिवडाले अहिलेसम्म सरकारमा पठाउने मन्त्रीको टुंगो नलागेको बताए ।

‘हाम्रो पार्टीबाट बेदुराम भुसाल, राजेन्द्र पाण्डे र प्रकाश ज्वालामध्ये एकजनाले पार्टीको नेतृत्व गर्नुहुन्छ। त्यो कुरा पक्का जस्तै हो,’ उनले भने,‘प्रतिनिधि सभा र राष्ट्रिय सभाका सबै सांसदहरूले दाबी गर्नु स्वाभाविक हो। तर कसलाई पठाउने भनेर निर्णय भएको छैन।’