काठमाडौं । नेपाली नागरिकलाई भुटानी शरणार्थी बनाएर अमेरिका पठाइदिन्छु भन्दै ८१ जनाबाट १३ करोड ६३ लाख रुपैयाँ भन्दा बढी ठगी गरेको खुलेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले गरेको प्रारम्भिक अनुसन्धनका क्रममा २०७७ सालदेखि योजनाबद्ध ढंगले शरणार्थीका नाममा ठगी हुँदै आएको खुलेको हो।
ठगी गरेको आरोपमा प्रहरीले ललितपुरको ललितपुर महानगरपालिका–२३ घर भइ हाल ललितपुरको महालक्ष्मी नगरपालिका–४ सितापाखा बस्दै आएका ५० वर्षीय सानु भण्डारी, मोरङको पथरी शनिश्चरे–१० घर भइ ललितपुरको धापाखेल बस्दै आएका ४९ वर्षीय केशव प्रसाद दुलाल र पाँचथरको फिदिम–७ घर भइ ललितपुरको धापाखेल नै बस्दै आएका ४५ वर्षीय टंककुमार गुरुङलाई पक्राउ गरेको थियो।
पक्राउ परेका व्यक्तिहरूले आफूसँग सम्पर्कमा आएका र चिनजानमा रहेका सबै व्यक्तिलाई प्रयोग गरी आफन्त र नातागोताका व्यक्तिहरू समेतलाई शरणार्थीका नाममा अमेरिका पठाइदिन्छु भनेर भुटानी शरणार्थीको नाम दर्ता गर्नेसम्बन्धी फर्म भर्न लगाइ प्रतिव्यक्ति १५ देखि २० लाख असुल गरी ठगी गर्ने गरेको खुलेको अपराध अनुसन्धान कार्यालयले जनाएको छ ।
भुटानी शरणार्थीको नाम दर्ता गर्नेसम्बन्धी फर्म भराइएका सबै व्यक्ति नेपाली नागरिक रहेको प्रहरी अनुसन्धानबाट खुलेको छ ।