काठमाडौं । डिल्ली बजार जेलमा रहेका रेशम चौधरी संरक्षक रहेको नागरिक उन्मुक्ति पार्टी पनि संघीय सरकारमा जान तयार भएको छ । उक्त पार्टीले अध्यक्ष रञ्जिता श्रेष्ठलाई सरकारमा पठाउने तयारी गरेको छ ।
सुदूरपश्चिम सरकारलाई समर्थन गरेर कांग्रेस-माओवादीसहितको सत्ता गठबन्धनमा जोडिएको नागरिक उन्मुक्तिबाट अध्यक्ष रञ्जिता नै सरकारमा जान लागेकी हुन् ।
यद्यपि उनको मन्त्रालय टुंगो लागिसकेको छैन । नागरिक उन्मुक्तिले संस्कृति पर्यटन अथवा वन तथा वातावरण मन्त्रालय लिन चासो देखाएको छ ।
प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले मंगलबार विस्तार गर्न लागेको मन्त्रिमण्डलमा श्रेष्ठ पनि मन्त्री बन्ने उक्त पार्टीका महासचिव रतन थापाले जानकारी दिए ।
बालुवाटार स्रोतका अनुसार पार्टीका अध्यक्ष रञ्जिता श्रेष्ठ मन्त्री बन्न तयार छिन् । मन्त्रालयको टुंगो गठबन्धनको बैठक बसेर लगाउने समझदारी बनेको छ ।