चार एआईजीको पदस्थापन, सीआईबीमा किरण बज्राचार्य

दियो पोस्ट  

काठमाडौं । अतिरिक्त महानिरीक्षक (एआईजी) हरुको पदस्थापन गरिएको छ । मंगलबारको मन्त्रिपरिषद बैठकले बढुवा भएका चार एआईजीहरुको पदस्थापन गरेको हो ।

जसअनुसार चुनौतीपूर्ण ठानिएको काठमाडौं उपत्यका प्रहरी कार्यालय रानिपोखरीमा एआईजी श्यामलाल ज्ञवालीको पदस्थापन भएको छ । रानिपोखरी मातहत उपत्यकाका तीन जिल्लाको कमाण्ड कन्ट्रोल हुने गर्छ ।

त्यसैगरी केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)मा किरण बज्राचार्यलाई पठाइएको छ । देशभर हुने ठूला तथा जघन्य अपराध, संगठित अपराध र ठूला आर्थिक अपराधको अनुसन्धान सीआईबीले गर्दै आएको छ । प्रहरी महानिरीक्षक (आईजी)को प्रत्यक्ष मातहतमा रहने सीआईबी अपराध अनुसन्धानको सर्वोच्च निकाय मानिन्छ ।

त्यसैगरी राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान (एकेडेमी)मा टेकप्रसाद राईको पदस्थापन गरिएको छ । प्रहरी कर्मचारीका वृत्ति विकास, तथा तालिम र प्रहरी कर्मचारी उत्पादनका लागि एकेडेमीको मुख्य भूमिका रहन्छ ।

प्रहरी हेडक्वाटरमै रहेको प्रशासन विभागमा भने एआईजी दीपक थापालाई पदस्थापन गरिएको छ । प्रशासनिक काम तथा सम्पूर्ण खरिदका प्रक्रियाहरु यही विभाग मातहत रहन्छन् ।