काठमाडौं । काठमाडौं महानगरपालिकाभित्र सञ्चालनमा रहेका औषधी पसल (फार्मेसी) मा आधारभूत मापदण्ड कायम नभएको पाइएको छ ।
महानगर क्षेत्रभित्र सञ्चालित १ सय १८ औषधि पसल अनुगमन गर्दा कुनैले पनि आधारभूत मापदण्ड पालना गरेको नभेटिएको महानगरले जनाएको छ ।
काठमाडौं महानगरपालिका स्वास्थ्य विभागले गत २१ असोजदेखि औषधि पसल अनुगमन थालेको थियो । अहिलेसम्म वडा नम्बर १, २ र ३ का धेरै र अन्य वडाका विभिन्न ठाउँ अनुगमन गरिएको छ ।
१४ वडा कलंकीमा सञ्चालित मिसन फार्मेसीले फ्रिज नचलाइ खोप भण्डारण गरेको भेटिएपछि ३ प्याकेट (३० वटा) एन्टिरेबिज भ्याक्सिन, टीटी खोप ९ थान र ३ थान इन्सुलिन जफत गरेको महानगरले जनाएको छ ।
प्राणघातक रोेग रेबिजविरुद्ध लगाइने एन्टिरेबिज खोपमा गरिएको यो लापरबाही गम्भीर प्रकृतिको हो। रविचन्द्र फार्मेसीमा रेफ्रिजिरेटरको तापक्रम नमिलेको भेटिएको थियो ।