काठमाडौं । नेपाल महिला रग्बी कमिटीको आयोजनामा महिला पत्रकार र नेपाल महिला रग्बी खेलाडीबीच आज मैत्रीपूर्ण टच रग्बी खेल सम्पन्न भएको छ ।
अन्तर्राष्ट्रिय महिला दिवसको अवसरमा आयोजित उक्त खेलमा विभिन्न सञ्चार माध्यममा आबद्ध २५ जना महिला पत्रकार तथा आयोजक टोलीका २५ जना खेलाडीबीच शान्तिनगरको फुटसल मैदानमा प्रतिस्पर्धा भएको थियो ।
कमिटीकी महिला विभाग प्रमुख एलिसा थापाले अन्तर्राष्ट्रिय महिला दिवसको शुभकामना दिँदै रग्बी खेल अन्य खेलजस्तै दिन प्रतिदिन लोकप्रिय बन्दै गएको बताए । उनले स्वास्थ्यका लागि खेल महत्वपूर्ण भएकाले आगामी दिनमा पनि यस किसिमको प्रतियोगिताको आयोजना गरिने जानकारी दिए ।
थापाले खेलक्षेत्रमा महिलालाई आकर्षित गराउँदै लगेमा समाजमा महिलामाथि हुने हत्या हिंसा र बलात्कारजस्ता जघन्य घटनालाई न्यूनीकरण गर्न सकिने धारणा व्यक्त गरे ।
राष्ट्रिय खेलकुद परिषद्की बोर्ड सदस्य नन्दा बस्यालले महिलालाई सशक्तरुपमा अगाडि बढाउन सके समाजमा महिलामाथि हुने विभिन्न किसिमका हिंसा रोक्न सकिने बताए ।