चितवनबाट ४४३ किलो गाँजासहित दुई भारतीय नागरिक पक्राउ

दियोपोस्ट संवाददाता

काठमाडौँ । चितवनबाट ४४३ किलो गाँजासहित दुई जना भारतीय नागरिक पक्राउ परेका छन् । राप्ती नगरपालिका-१ लोथरस्थित प्रहरी चेकिङ पोइन्टमा जाँच गर्ने क्रममा भारतीय कन्टेनरबाट उक्त परिमाणको गाँजा बरामद भएको हो ।

पक्राउ पर्नेमा कन्टेनरका चालक भारतका २४ वर्षीय सत्यम कुमार र सहचालक २० वर्षीय रौनक रहेका छन् । शुक्रबार बिहान करिब ९ बजे इलाका प्रहरी कार्यालय भण्डारा र अस्थायी प्रहरी पोस्ट लोथरबाट खटिएको संयुक्त प्रहरी टोलीले उनीहरूलाई पक्राउ गरेको हो ।

हेटौँडाबाट चितवनतर्फ आउँदै गरेको एनएल०१०७७९२ नम्बरको भारतीय कन्टेनर जाँच गर्ने क्रममा चालकको सिट पछाडि रहेको क्याबिनमा फल्स बटम (नक्कली तह) बनाई लुकाएर राखिएको अवस्थामा ४४३ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ ।

पक्राउ परेका दुवै जनासहित बरामद गाँजाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस