एनपीएल फाइनलको टिकट बिक्री खुल्नुअघि नै ‘सोल्ड आउट’, व्यवस्थापनको पारदर्शितामाथि प्रश्न

दियोपोस्ट संवाददाता

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणअन्तर्गत शनिबार हुने फाइनल खेलको टिकट बिक्री प्रक्रिया विवादमा तानिएको छ । शुक्रबार दिउँसो १ बजेदेखि टिकट बिक्री खुला गर्ने आधिकारिक समय तोकिए पनि निर्धारित समयअघि नै अनलाइन प्लेटफर्ममा टिकट ‘सोल्ड आउट’ देखिएपछि क्रिकेट समर्थकहरू आक्रोशित बनेका हुन् ।

प्रयोगकर्ताहरूका अनुसार दिउँसो १२ः५७ बजे नै अनलाइन प्लेटफर्ममा टिकट उपलब्ध नभएको सूचना देखिएको थियो । निर्धारित समय दिउँसो १ः०१ बजे टिकट काट्न प्रयास गर्दा समेत खरिद प्रक्रिया सफल नभएको दर्शकहरूको गुनासो छ ।

टिकट बिक्री सुरु हुनुअघि नै ‘सोल्ड आउट’ देखिएपछि टिकट वितरण प्रणालीको विश्वसनीयता र पारदर्शितामाथि प्रश्न उठेको छ ।  क्रिकेट समर्थकहरूले सामाजिक सञ्जालमार्फत असन्तुष्टि व्यक्त गर्दै टिकट व्यवस्थापनलाई सहज र पारदर्शी बनाउन आयोजक तथा सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन् ।

एनपीएलको लिग चरणका खेलका लागि साधारणतर्फ ५०० र प्रिमियमतर्फ एक हजार रुपैयाँ टिकट मूल्य निर्धारण गरिएको थियो । त्यस्तै, एलिमिनेटर र फाइनल खेलका लागि साधारणतर्फ एक हजार र प्रिमियमतर्फ दुई हजार रुपैयाँ शुल्क तोकिएको छ ।

यसअघि प्रतियोगिताको उद्घाटन दिनको खेलको टिकट पनि बिक्री सुरु भएको करिब ३० मिनेटमै सकिएको थियो । त्यसबेला पनि टिकट ‘सोल्ड आउट’ देखिएपछि टिकट वितरणको पारदर्शितामाथि प्रश्न उठेको थियो ।

प्रतियोगिताको फाइनल खेल आगामी शनिबार हुनेछ । फाइनल प्रवेशका लागि हुने प्रतिस्पर्धामा दुवै टोली जित निकाल्ने लक्ष्यसहित मैदानमा उत्रँदैछन् ।

लुम्बिनी लायन्स लगातार तेस्रो पटक एनपीएलको उपाधि जित्ने लक्ष्यमा छ भने सुदूरपश्चिम रोयल्स पहिलो पटक उपाधि उचाल्ने दाउमा रहेको छ ।

सम्बन्धित खबर

सिफारिस