नक्कली शैक्षिक प्रमाणपत्र पेस गर्ने बाराका शिक्षकविरुद्ध अख्तियारको मुद्दा

दियोपोस्ट संवाददाता

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरी शिक्षक पदमा नियुक्त भएको आरोपमा बाराका एक शिक्षकविरुद्ध विशेष अदालत, काठमाडौँमा आरोपपत्र दायर गरेको छ ।

आयोगले बाराको साविक मझरिया-६ (हाल सुवर्ण गाउँपालिका-६) स्थित श्री नेपाल राष्ट्रिय प्राथमिक विद्यालय, मझरियामा कार्यरत शिक्षक धर्मेन्द्र प्रसाद यादवविरुद्ध शुक्रबार आरोपपत्र दायर गरेको हो ।

आयोगका अनुसार यादवले शिक्षण पेसामा प्रवेश गर्दा पेस गरेको शैक्षिक योग्यताको प्रमाणपत्र नक्कली रहेको पाइएको छ । उनले प्राथमिक तहको शिक्षक पदमा नियुक्त हुन बिहार इन्टरमिडिएट एजुकेसन काउन्सिल, पटनाबाट जारी भएको इन्टरमिडिएट तह (आई.ए.) को झुट्टा तथा नक्कली शैक्षिक योग्यताको प्रमाणपत्र पेस गरेको अनुसन्धानबाट खुलेको आयोगले जनाएको छ ।

नक्कली प्रमाणपत्रका आधारमा शिक्षक पदमा कार्यरत रही पद, ओहदा, लाभ तथा सुविधा प्राप्त गरेको पुष्टि भएको आयोगको भनाइ छ ।

यादवले भ्रष्टाचार निवारण ऐन, २०५९ को दफा १६ को उपदफा (१) बमोजिमको कसुर गरेको भन्दै आयोगले सोही दफाबमोजिम कैद र जरिवाना सजायको मागदाबीसहित विशेष अदालतमा आरोपपत्र दायर गरेको जनाएको छ ।

सम्बन्धित खबर

सिफारिस