
काठमाडौँ । आमसञ्चार माध्यमले अपाङ्गता भएका व्यक्तिका सवाललाई समाचारमा मात्र सीमित नराखी सम्पादकीय नीति, समाचारका विषयवस्तु तथा सबै बिटमा समेट्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपाल र नेपाल पत्रकार महासंघ केन्द्रीय समावेशी विभागको संयुक्त आयोजनामा आयोजित ‘आमसञ्चारमा अपाङ्गताको सवालः अवस्था, चुनौती र आगामी कार्यदिशा’ विषयक अन्तरक्रिया कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो धारणा राखेका हुन् ।
कार्यक्रममा कार्यपत्र प्रस्तुत गर्दै अपाङ्गता समावेशी विकास विज्ञ तथा दलित अपाङ्गता भएका व्यक्तिहरूको संघ नेपाल (डिडान)का कृष्ण गहतराजले अपाङ्गता भएका व्यक्तिका विषयमा समाचार आउने गरे पनि पर्याप्त नभएको बताए । उनले अपाङ्गता भएका व्यक्तिहरूलाई नेतृत्वदायी भूमिकामा स्थापित गर्न र उनीहरूको विविधतालाई सञ्चारमाध्यमले उजागर गर्न आवश्यक रहेको उल्लेख गरे ।
अपाङ्गताका सवाललाई मानव अधिकारमुखी दृष्टिकोणबाट हेरिनुपर्नेमा जोड दिँदै गहतराजले दलित अपाङ्गता भएका व्यक्तिहरूका लागि समावेशी नीति अवलम्बन गर्नुपर्ने बताए । उनका अनुसार अहिले पनि ४२ प्रतिशत दलित समुदाय गरिबीको रेखामुनि छन् र यही समुदायका व्यक्तिहरू अपाङ्गताको समस्याबाट बढी प्रभावित छन् ।
उनले सञ्चारमाध्यममा अपाङ्गता समावेशी सञ्चार तथा सम्पादकीय नीतिको आवश्यकता औँल्याउँदै समाचारका विषय र विभिन्न बिटमा अपाङ्गता भएका व्यक्तिहरूलाई समेट्नुपर्ने बताए । साथै, उनीहरूको प्रत्यक्ष सहभागिता र नेतृत्वलाई पनि सञ्चारमाध्यमले स्थान दिनुपर्ने उनको भनाइ थियो ।
राष्ट्रिय आदिवासी जनजाति अपाङ्ग महिला संघ नेपालकी प्रतिमा गुरुङले सञ्चारमाध्यमले अपाङ्गता भएका महिलाका सवाललाई विशेष प्राथमिकता दिनुपर्ने बताइन् । अपाङ्गता भएका महिलाका विषयमा स्पष्ट सञ्चार नीति नहुँदा उनीहरूका समस्या र अधिकार पर्याप्त रूपमा सार्वजनिक हुन नसकेको उनको भनाइ थियो ।
उनले अपाङ्गता भएका व्यक्तिहरूको सही तथ्याङ्क राज्यसँग नरहेको र उनीहरूलाई सम्बोधन गर्न प्रयोग गरिने भाषासमेत कतिपय अवस्थामा अपमानजनक हुने गरेको बताइन् । अपाङ्गता भएका व्यक्तिका सवाललाई समाचारमा मात्र नभई सञ्चारमाध्यमको सम्पादकीय नीतिमै समेटेर स्थापित गर्नुपर्नेमा उनले जोड दिइन् ।
नेपाल पत्रकार महासंघका सचिव प्रकाश धौलाकोटीले अधिकारका क्षेत्रमा काम गर्ने संस्थाहरूमध्ये नेपाल पत्रकार महासंघ तुलनात्मक रूपमा समावेशी देखिएको बताए । यद्यपि, अपाङ्गता भएका व्यक्तिका सवालमा राज्यले नै नीतिगत सुधार गर्नुपर्ने आवश्यकता रहेको उनको भनाइ थियो ।
उनले कुन विषयमा कसले लेख्ने, अपाङ्गता भएका व्यक्तिलाई समाचारमा कसरी समेट्ने र उनीहरूको अधिकार कसरी स्थापित गर्ने भन्ने विषयमा सञ्चारमाध्यमले स्पष्ट नीति बनाउनुपर्ने बताए । समाचारका सबै बिटमा अपाङ्गता भएका व्यक्तिका विषय समेटिनुपर्ने र उनीहरूलाई सम्बोधन गर्दा प्रयोग गरिने भाषामा विशेष ध्यान दिनुपर्ने उनले उल्लेख गरे ।
त्यसैगरी, नेपाल पत्रकार महासंघका उपाध्यक्ष उमिद वागचन्दले अपाङ्गता भएका व्यक्तिलाई सम्बोधन गर्न आम रूपमा प्रयोग गरिने शब्दावलीमै समस्या रहेको बताए । त्यस्ता गलत र अपमानजनक शब्द प्रयोगलाई सञ्चारमाध्यमले सच्याउनुपर्ने उनको भनाइ थियो ।
अपाङ्गता भएका व्यक्तिलाई दयाको पात्र वा बिचराका रूपमा नभई क्षमता र योग्यताका आधारमा अवसर प्रदान गर्नुपर्नेमा जोड दिँदै वागचन्दले उनीहरूको क्षमता, सम्भावना र योगदानलाई सञ्चारमाध्यमले उजागर गर्नुपर्ने बताए ।
कार्यक्रममा सहभागी वक्ताहरूले अपाङ्गता भएका व्यक्तिहरूको अर्थपूर्ण सहभागिता, प्रतिनिधित्व र नेतृत्व सुनिश्चित गर्न राज्य तथा सञ्चारमाध्यम दुवैले नीतिगत र व्यवहारिक सुधार गर्नुपर्ने आवश्यकता औँल्याएका थिए ।
