प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै कुटपिट

दियो पोस्ट डेस्क  

काठमाडौं । डेलधुराको परशुराम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृतमाथि कार्यपालिका बैठकमै हातपात भएको छ ।

बिहीबार अपराह्न ३ बजे नगरपालिका स्थित कार्यपालिकाको हलमा बसेको बैठकमा विवाद हुँदा प्रमुख प्रशासकीय अधिकृत कृष्णदेव जोशीमाथि कुटपिट भएको हो।

बैठकमा आक्रोशित भएका सदस्यहरूले हलमा भएका कुर्सी तोडफोड गर्दै जोशीमाथि भाँचिएको प्लास्टिकको कुर्सीले प्रहार गर्दा टाउकोमा चोट लागेपछि नजिकैको जोगबुढा अस्पतालमा उपचारका लागि लगिएको थियो।  उनको टाउकोमा तीनवटा टाँका लगाएको बताइएको छ । उनीमाथि कसले हातपात गरेको यकिन भइनसकेको प्रहरीले जानकारी दिए ।

कार्यपालिका बैठकमा शिक्षा शाखा प्रमुख, उपप्रमुख लगायतबीच विवाद भएको थियो। विवाद उत्पन्न भएपछि हातपातको स्थितिमा पुगेको प्रहरीको भनाइ छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ ।