काठमाडौ । महानगरपालिकाले ठाउँहरुको प्राचीन नाम प्रचलनमा ल्याउने भएको छ । महानगरले धार्मिक, साँस्कृतिक र ऐतिहासिक महत्व भएका टोल, बस्ती, मठमन्दिर, वहाल, वहि, धारा, सत्तल र पाटीहरुको प्राचीन नाम पुनरुत्थान गरेर प्रचलनमा ल्याउने भएको हो ।
विभिन्न अध्ययनबाट पत्ता लागेका प्राचीन नामको आधारमा महानगरले ठाउँहरुको पुराना नामलाई प्रचलनमा ल्याउने प्रक्रिया अघि बढाएको छ । संस्कृतिविद्, पुरातत्वविद्, भाषाविद् तथा इतिहासविद्ले प्राचीन नामको पुष्टि गरेपश्चात ठाउँहरुको प्राचीन नाम प्रचलनमा ल्याइने महानगरले जनाएको छ ।
हाँडीगाउँदेखि बौद्धसम्मको नाम फेरीने
महानगरले विभिन्न पाँचवटा वडाका २ सय ५८ टोलको नाम फेर्ने प्रक्रियाको थालनी गरेको छ । यदि महानगरले ठाउँहरुको पुराना नाम प्रचलनमा ल्याएमा पहिलो चरणमा नरदेवीदेखि बौद्धसम्मका नामहरु फेरीने छन् । जसअनुसार वडा न ५ स्थित हाँडीगाँको नाम ‘खास्ती’, वडा न ६ स्थित बौद्धको नाम ‘खस्योर/खास्ती’, वडा न ७ स्थित चाबहिलको नाम ‘चावही’, वडा न १८ स्थित नरदेवीको नाम ‘ङेत’ र वडा न २४ स्थित मखनको नाम ‘मखं’ मा परिणत हुनेछ ।
महानगरपालिकाअन्र्तगत सम्पदा तथा पर्यटन विभागले एकीकृत शहरी विकास केन्द्रसँगको सहकार्यमा विभिन्न स्थानहरुको अध्ययन गरेको थियो । अध्ययनबाट प्राप्त सुचना र जानकारीको आधारमा नामहरु पहिचान गरिएको थियो ।