पर्पल हेजका संचालक ‘अशोक’ सेनले ठेकेदारलाई रुवाबासी बनाए, दिएनन् १ करोड ७८ लाख भुक्तानी !

दियो पोस्ट  

 

काठमाडौं । रात्रीकालीन व्यावसायी ठमेलस्थित पर्पल हेज रक एण्ड बारका संचालक अशोक भनिने कृष्ण सेनले निर्माणको काम लगाएर एक निर्माण व्यावसायीलाई विचल्ली बनाएका छन् ।

पर्पल हेज रक एण्ड बार र होटल गाँसबासको निर्माण सम्बन्धी काम लगाएर निर्माण व्यावसायी उमेश श्रेष्ठले पाउनुपर्ने भुक्तानी नदिएर उनले तनाव दिएका हुन् ।

 

श्रेष्ठका अनुसार बार र होटल पुनर्निर्माण गरेबापत सेनबाट उनले एक करोड अठ्ठहत्तर लाख रुपैयाँ पाउनुपर्ने छ । तर, आफूले पाउनुपर्ने रकम माग्न जाँदा विभिन्न बाहनाबाजी गरेर धम्की दिने गरेको श्रेष्ठको आरोप छ । उनले आफूलाई रकम माग्न जाँदा धाक धम्की दिएको भन्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंमा शान्ति सुरक्षाको निवेदन समेत दिएका थिए ।

उक्त निवेदनका आधारमा जिल्ला प्रशासन कार्यालय काठमाडौले जिल्ला प्रहरी परिसर काठमाडौँलाई पत्राचार गरेको थियो । पत्राचारको आधारमा प्रहरी परिसर काठमाडौंले सेनलाई छलफलका लागि बोलाएका थिए । ‘प्रहरीले छलफलका लागि बोलाउँदा पनि १ हप्तापछि मात्रै प्रहरी कार्यालयमा आउनुभयो । तर, हामी निर्माण सम्बन्धी काम गर्ने व्यक्तिहरुलाई चिन्दिनँ भन्नु भयो,’ श्रेष्ठले भने,‘३ वर्षदेखि काम गरेको रकम नदिने उल्टै हामीलाई चिन्दिनँ भनेर धम्की दिने गरिएको छ ।’

रकम माग गर्दा सेनले विभिन्न गुण्डा नाइकेहरुको नाम लिएर धम्की दिने गरेको पीडितको गुनासो छ ।

श्रेष्ठ नेतृत्वको उमा महेश्वर निर्माण सेवाले सेनको स्वामित्व रहेको पर्पल हेज बार र गास बास होटलको रेनोभेसनको काम गरेको थियो । मौखिक सहमतिको आधारमा काम गरेको श्रेष्ठको भनाई छ ।

 

‘मैले कामदारलाई पैसा दिनुपर्ने थियो । कृष्ण सेनले दिन मानेका छैनन् । अब घर बेचेर तिर्नुपर्ने त होलानी’ ठेकेदार उमेश श्रेष्ठले दियोपोस्टसँग भने । जिल्ला प्रहरी परिसरमा सेनले १ महिना भित्र हिसाब मिलाउँछु भनेर बाहिरिएका थिए । तर, पछि उनले आफ्नो हिसाब माग्दा मिटर ब्याजमा फसाइदिन्छु भन्दै धम्की समेत दिएको गुनासो गरे ।

यस विषयमा प्रतिक्रिया लिन अशोक भनिने कृष्ण सेनको नम्बरमा पटकपटक फोन गर्दा पनि उनले उठाएनन् ।

 

सिफारिस