
काठमाडौं । ललितपुरको जावलाखेल सेन्ट मेरि स्कुलमा अध्ययन गरेका एक छात्राको विद्यालयकै मिलेमतोमा नक्कली सर्टिफिकेट तयार पारेको घटना अदालत पुगेको छ । तर, प्रहरीले विद्यालयका कुनैपनि अधिकारी, र नक्कली शैक्षिक प्रमाणपत्र जारी गर्ने अधिकारीलाई प्रतिवादी नै नबनाई विद्यार्थीलाई मात्रै प्रतिवादी बनाएर मुद्दा दायर गरेको छ ।
भारतको दार्जलिङ घर भई ललितपुरकाको आदर्श टोलबस्ने ३९ वर्षिय लिनेट फेच क्षेत्री र उनका बाबु क्रोडी फ्रेच क्षेत्री भनिनने फरदिनान्द भ्यालेन्टाइन फेट्स विरुद्ध सरकारी छाप दस्तखत किर्ते मुद्दा दायर भएको छ । जावलाखेलस्थित सेन्ट मेरिज उमावीमा कक्षा ११ र १२ अध्ययन पछि सोही स्कुलबाट नक्कली सर्टिफिकेट र चारित्रिक प्रमाण पत्र बनाई पाठ्यक्रम विकास केन्द्र सानोठिमी भक्तपुरको समेत नक्कली शैक्षिक योग्यताको प्रमाण पत्र बनाएको खुलेको थियो । सोही विषयमा उच्च माध्यमिक शिक्षा परिषद परिक्षा नियन्त्रण कार्यालय भक्तपुरको जाहेरीको आधारमा उनीहरुलाई मुद्दा दायर भएको हो । २०६० सालमा सेन्ट मेरिज उच्च माध्यमिक विद्यालय जावलाखेलबाट आफूले कक्षा ११ र १२ को परिक्षामा सामेल भएको र रिजल्ट आउँदा आफू फेल भएको लिनेटले प्रहरी समक्ष बयान दिएकी छिन् ।
परिक्षा फेल भएपछि आफ्नो बुवा क्रोडी र बुवाको साथी ललितपुरकै आदर्श टोल बस्ने राजेन्द्र कपाली समतले सेन्ट मेरिज स्कुलबाट कक्षा ११ र १२ पास भएको ट्रान्सक्रिप्ट माइग्रेशन, प्रोभिज्नल प्रमाण पत्र आफूलाई दिएको उनले बयान दिएकी छिन् । तर, प्रहरीले नक्कली शैक्षिक प्रमाण पत्र बनाउने कार्यक्रमा संलग्न राजेन्द्र कपालीलाई उन्मुक्ति दिएको छ ।
यता विद्यार्थीका बाबु क्रोडी फ्रेच भनिने फरदिनान्द भ्यालेन्टाइनले फेल भएपछि आफ्नी छोरीको खुसीका लागि आफूले सेन्ट मेरिज स्कुलबाट ट्रान्सक्रिप्ट, माइग्रेसन, प्रोभिज्नल प्रमाण पत्र ल्याएर दिएको बयान दिएका छन् ।
उनकै साथी स्नेहालता लामाले दिएको बयान अनुसार उनलाई कक्षा ११ मा केमेस्ट्री र गणित विषय लागेको थियो । कक्षा १२ मा पनि सोही विषय लागेको थियो । नक्कली सर्टिफिकेटको आधारमा शैक्षिक प्रमाण पत्र लिन सानोठिमी भक्तपुर गएका बेला उनीहरुलाई प्रहरीले पक्राउ गरेको थियो ।
२० वर्षपछि अदालत पुगेको यो मुद्दा
जिल्ला सरकारी वकिल कार्यालय भक्तपुरले यो मुद्दा २०८१ फागुन २१ गते जिल्ला अदालतमा दर्ता गरेको छ । जबकी यो मुद्दा आजभन्दा २० वर्षदेखि अनुसन्धान चलेको थियो । २०६१ साल भदौ ७ गते उच्च माध्यमिक शिक्षा परिषदको पत्राका आधारमा यो मुद्दा अनुसन्धान अघि बढेको थियो । २० वर्षपछि अहिले भने प्रहरी र सरकारी वकिल कार्यालयले यो मुद्दा जिल्ला अदालत भक्तपुरमा दर्ता गरेका छन् ।