‘राजगंज’को सेन्सर रोकिएपछि निश्चलकाे कटाक्ष- सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ?

दियोपोस्ट संवाददाता  

काठमाडौं । चैत १ गते (शुक्रबार) बाट प्रदर्शनमा आउन लागेको चलचित्र ‘राजागंग’ सेन्सर पास नभएपछि निर्देशक निश्चल बस्नेतले सेन्सर बोर्डको सदस्यको योग्यतामाथि नै प्रश्न उठाएका छन् ।

उनले सामाजिक सञ्जालमा स्टाटस लेख्दै, ‘राजागंजलाई सेन्सरले रोकेछ । सेन्सर बोर्डको सदस्य हुने योग्यता के हो ? डिस्क्लेमर नबुझ्ने, फिल्ममा देखाएको सबै कुरा वास्तविक हो भनेर बुझ्ने, फिक्सनको अर्थ नबुझ्ने । यस्तै चाहिने हो योग्यता ?’ भन्दै लेखेका छन् ।

कला नबुझ्नेहरू सेन्सर बोर्डमा बसेको भन्दै बस्नेतले आक्रोश पोखेका छन् । भेनिस इन्टरनेशनल फिल्म फेस्टिभलमा १० मिनेटको स्टान्डिङ ओभेसन प्राप्त गरेको ‘राजागंज’को सेन्सर रोकिएपछि चलचित्रकर्मीहरू आक्रोशित बनिरहेका छन् । चलचित्रभित्र समावेश शब्द र सामाग्रीमा आपत्ति जनाउँदै सेन्सर बोर्डले सेन्सर रोकेको थियो ।

सार्वजनिक कार्यक्रममा प्रधानमन्त्री ओलीले बोलेको भाषणको दृश्य समेटेकोमा आपत्ति जनाउँदै बोर्डले प्रदर्शन अनुमति दिन नमानेको हो ।

केही वर्षअघि प्रधानमन्त्री ओलीले एक कार्यक्रममा संविधान सभाबाट बाहिरिने दलहरूलाई ‘रुखबाट झरेका केही आँप’को संज्ञा दिएका थिए । उक्त भाषण चलचित्रमा समावेश गरेपछि सेन्सर बोर्डले आपत्ति जनाएको हो।

प्रतिष्ठित अमेरिकी अखबार ‘द न्युयोर्क टाइम्स’ले निर्देशक रौनियारलाई संसारका नौ उदीयमान निर्देशकको सूचीमा समावेश गरेको थियो । सत्य घटनाबाट प्रेरित रहेको ‘राजागंज’ले नेपाल र भारतको सीमावर्ती सहरमा अपहरणमा परेका दुई बालकलाई मुक्त गराउन प्रहरीले चालेको खोजी अपरेसनको कथा उठाएको छ।

चलचित्रको निर्माणमा निर्देशक रौनियार र अभिनेत्री मगराती, बासुरी फिल्मस्का तर्फबाट रामबाबु गुरुङ र मनिराम पोखरेल, अभिनेता दयाहाङ राई तथा तन्हाउसर गेटका तर्फबाट एलन आर मिलिगनले सहकार्य गरेका छन् ।

चलचित्रमा आशा मगराती, दयाहाङ राई, विजय बराल, ऋचा शर्मा, गौमाया गुरुङ, पशुपति राई, पूर्वमिस नेपाल निकिता चाण्डक, पुष्पा यादव, आरती मण्डल घनश्याम मिश्र, परमेश्वर कुमार झा र नीरज श्रेष्ठलगायत अभिनय छ ।

यस चलचित्र भेनिस, ह्याम्बर्ग, बुसान र मुम्बईजस्ता विश्वका ठूला चलचित्र महोत्सवमा महोत्सवमा सहभागी भइसकेको छ। यो सिनेमा गत कात्तिक एकै महिनामा ५ फेस्टिभलमा स्क्रिनिङ भएको थियो।