चुनाव बिथोल्ने गतिविधिमा संलग्न रहेको आरोपमा दुर्गा प्रसाईं पुनः पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । दुर्गा प्रसाईं पुनः पक्राउ परेका छन्। आइतबार बिहान भक्तपुरस्थित आफ्नै निवासबाट प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार चुनाव बिथोल्ने तथा सार्वजनिक शान्ति खलल पार्ने गतिविधिमा संलग्न रहेको आरोपमा प्रसाईंलाई पक्राउ गरिएको हो। उनीविरुद्ध आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जनाएको छ। पक्राउ पश्चात उनलाई अनुसन्धानका लागि हिरासतमा राखिएको छ।

यसअघि प्रसाईंलाई फागुन ४ गते पक्राउ गरि फागुन १३ गते सर्वोच्च अदालतको आदेशपछि रिहा गरिएको थियो । अदालतको आदेशपछि रिहा भएका उनीमाथि पुनः नयाँ आरोपमा अनुसन्धान अघि बढाइएको प्रहरी स्रोतले जनाएको छ।

प्रसाईं ‘राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति तथा नागरिक बचाउ महाअभियान’ का संयोजक हुन्। पछिल्लो समय उनले विभिन्न राजनीतिक गतिविधि तथा बन्द–हड्तालको आह्वान गर्दै आएका थिए। सुरक्षा निकायले ती गतिविधिले निर्वाचन प्रक्रियामा अवरोध पुग्न सक्ने आकलन गर्दै निगरानी बढाएको थियो।