परासी। नेपाली कम्युनिष्ट पार्टीका नेता तथा नवलपरासी पश्चिम-२ बाट प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार देवेन्द्र पौडेलले देशलाई समाजवादतर्फ अघि बढाउने सामर्थ्य आफ्नो पार्टीसँग मात्रै रहेको दाबी गरेका छन्।
शनिबार परासी बजारमा आयोजित आमसभालाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका पौडेलले तत्कालिन माओवादीकै कारण नेपाली विशेषताको संघीयता आएको बताउँदै समाजवादको यात्रामा नेपाली कम्युनिष्ट पार्टी नै अग्रमोर्चामा रहने बताएका हुन् ।
समाजवादको लक्ष्य प्राप्तिका लागि पनि कम्युनिष्ट शक्ति नै अग्रपंक्तिमा रहने उनको भनाइ थियो। उनले मधेशी, थारु र महिलालगायतका समुदायले अधिकार प्राप्त गर्नुमा तत्कालीन माओवादी आन्दोलनको योगदान रहेको जिकिर गर्दै ती उपलब्धिको रक्षा गर्न कम्युनिष्ट पार्टीलाई समर्थन आवश्यक रहेको बताए।
नेपालको इतिहासमै समावेशी तथा समानुपातिक प्रतिनिधित्वको मुद्दा उठाएर कार्यान्वयनमा ल्याउने श्रेय पनि तत्कालीन माओवादीलाई जाने उनको दाबी थियो। महिला राष्ट्रपति, सभामुख र प्रधानन्यायाधीशसम्म बन्ने व्यवस्था जनताको बलिदानबाट सम्भव भएको उनले स्मरण गरे।
पौडेलले उज्यालो नेपालको अवधारणा अघि सार्दै देशभरको लोडसेडिङ अन्त्य गर्ने काम कम्युनिष्ट नेतृत्वमै सम्पन्न भएको बताए। सुशासनका पक्षमा दृढतापूर्वक उभिने शक्ति पनि कम्युनिष्ट पार्टी नै भएको उनको भनाइ थियो। किसानका बैंक ऋण मिनाहा गरी राहत उपलब्ध गराइएको विषय पनि उनले उल्लेख गरे।
संविधान संशोधनमार्फत समुदायका अधिकारलाई थप सुदृढ बनाउने प्रतिबद्धता जनाउँदै उनले महेशपुर नाकादेखि पाल्पा हुँदै कालिगण्डकी करिडोरमार्फत चीनको सीमासम्म, लोमाङथाङ जोड्ने योजना अघि बढाउने बताए।
त्यसैगरी, तत्कालीन प्रधानमन्त्री पुष्पकमल दाहालको पहलमा रामग्राम स्तुपाका लागि २५ अर्ब रुपैयाँ बजेट विनियोजन भएको उल्लेख गर्दै उक्त योजना कार्यान्वयनमा ल्याउन आफू कटिबद्ध रहेको उनले बताए। लुम्बिनीमा आउने पर्यटकलाई रामग्राम स्तुपासम्म आकर्षित गर्ने गरी पूर्वाधार विकास गरिने उनको योजना छ।
कार्यक्रममा पार्टीका केन्द्रीय सदस्य घनश्याम यादव, सुरेन्द्र पटेल, भविश्वर तिवारी र दुलारी हरिजनलगायतले पनि सम्बोधन गरेका थिए।