राजविराज। नेपाली कम्युनिष्ट पार्टी (नेकपा)का नेता तथा पूर्व सांसद दानालाल चौधरी जनता समाजवादी पार्टी नेपाल (जसपा) मा प्रवेश गरेका छन्।सप्तरीको शम्भुनाथ नगरपालिका-३ कचन्दाहा निवासी चौधरीलाई शनिबार जसपा नेपालका अध्यक्ष उपेन्द्र यादवले गम्छा र माला लगाएर पार्टीमा स्वागत गरेका हुन्।
कार्यक्रममा स्थानीय नेता-कार्यकर्ताको उल्लेख्य उपस्थिति रहेको थियो।
चौधरी २०५१ सालको मध्यावधि निर्वाचनमा नेकपा एमालेका तर्फबाट तत्कालीन सप्तरी क्षेत्र नम्बर ४ बाट प्रतिनिधि सभामा निर्वाचित भएका थिए। उनी लामो समयदेखि कम्युनिष्ट आन्दोलनमा सक्रिय रहँदै आएका पुराना नेताका रूपमा परिचित छन्।
वामपन्थी राजनीति, किसान तथा श्रमिक अधिकारका सवालमा स्पष्ट धार राख्दै आएका चौधरीले विभिन्न समयमा संगठन निर्माण र विस्तारमा भूमिका निर्वाह गरेका थिए। पछिल्लो समय उनी नेपाली कम्युनिष्ट पार्टीमा सक्रिय रहँदै आएका थिए।
स्थानीय तहदेखि राष्ट्रिय राजनीतिसम्म प्रभाव राख्ने नेताका रूपमा चिनिएका चौधरीको जसपा प्रवेशलाई सप्तरी क्षेत्रको राजनीतिक समीकरणमा अर्थपूर्ण रूपमा हेरिएको छ। मधेश-केन्द्रित राजनीतिमा प्रभाव विस्तार गरिरहेको जसपा नेपालका लागि उनको प्रवेश संगठन सुदृढीकरणतर्फ महत्वपूर्ण कदमका रूपमा विश्लेषण गरिएको छ।
जसपा नेपालका अध्यक्ष यादवले अनुभवी नेताको आगमनले पार्टीलाई मधेशसहित राष्ट्रिय राजनीतिमा थप बल पुग्ने विश्वास व्यक्त गरेका छन्। चौधरीले देशमा समावेशी, संघीय र पहिचानको राजनीतिलाई सुदृढ बनाउन आफू जसपा नेपालमा आबद्ध भएको बताएका छन्।