काठमाडौं। आसन्न निर्वाचनलाई राष्ट्रिय संकल्पका रूपमा लिँदै भयरहित तथा निष्पक्ष वातावरणमा सफलतापूर्वक सम्पन्न गराउन सबै प्रहरी कर्मचारीहरू पूर्ण प्रतिबद्धताका साथ परिचालन हुनुपर्ने निर्देशन दिइएको छ।
प्रहरी महानिरीक्षक दान बहादुर कार्कीले नेपाल प्रहरी प्रधान कार्यालयबाट भर्चुअल माध्यममार्फत निर्वाचनको पूर्वतयारी, निर्वाचन अवधिभरको सुरक्षा व्यवस्था तथा निर्वाचनपछिको अवस्थासम्बन्धी सतर्कता र समसामयिक विषयमा प्रहरी कर्मचारीहरूलाई सम्बोधन गर्दै यस्तो निर्देशन दिएका हुन्।
सो अवसरमा उनले निर्वाचनका क्रममा नेपाल प्रहरी अग्रपंक्तिमा रहेर जिम्मेवारी निर्वाह गर्ने भएकाले सम्भावित सुरक्षा चुनौतीहरूको सामना गर्न आवश्यक रणनीति तयार गरी सधैं तत्पर रहनुपर्ने बताए। सूचना संकलनलाई उच्च प्राथमिकता दिँदै सुरक्षा संवेदनशीलताको विश्लेषण गरी प्रभावकारी परिचालन गर्न उनले विशेष जोड दिए।
प्रहरी महानिरीक्षक कार्कीले भरपर्दो सुरक्षा योजना लागू गर्दै अन्य सुरक्षा निकाय तथा सरोकारवाला निकायसँग निरन्तर समन्वय र सहकार्य गर्नुपर्ने आवश्यकता औंल्याए। निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने, अवाञ्छित गतिविधिमा संलग्न हुने तथा सामाजिक सञ्जालमार्फत गलत वा मिथ्या सूचना फैलाउने व्यक्तिहरूलाई कानुनी दायरामा ल्याउन सक्रिय रूपमा काम गर्नुपर्ने उनको भनाइ थियो।
आ–आफ्नो क्षेत्रमा आपराधिक गतिविधि हुन नदिन प्रहरीको सशक्त उपस्थिति कायम राख्दै अन्य सुरक्षा निकायसँग संयुक्त परिचालन र पूर्वअभ्यासलाई प्राथमिकता दिनुपर्ने उनले बताए। निर्वाचन अवधिमा प्रहरीले पालन गर्नुपर्ने आचारसंहिता, सामाजिक सञ्जाल प्रयोगमा अपनाउनुपर्ने सावधानी तथा उच्च व्यावसायिकता प्रदर्शन गर्दै तटस्थ र इमानदार ढंगले जिम्मेवारी निर्वाह गर्न उनले निर्देशन दिए।
निर्वाचनलाई शान्तिपूर्ण बनाउन सम्बन्धित निर्वाचन अधिकृत र मतदान अधिकृतसँग आवश्यक समन्वय गर्दै मतदान केन्द्र निर्माणदेखि सुरक्षा व्यवस्थासम्म कुनै त्रुटि हुन नदिन ध्यान दिनुपर्ने उल्लेख गर्दै उनले थप मद्दतका रूपमा खटिने प्रहरी कर्मचारीहरूको उचित व्यवस्थापन र परिणाममुखी परिचालनमा जोड दिए। साथै आर्थिक अपराध र हुण्डी कारोबार नियन्त्रणमा पनि कडाइका साथ प्रस्तुत हुन निर्देशन दिए।
कार्यक्रममा कार्य विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक उमा प्रसाद चतुर्बेदी तथा मानवस्रोत विकास विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक राजन अधिकारीले जनशक्ति व्यवस्थापन, मतदानस्थल सुरक्षा, मतपेटिका ढुवानी, विद्यमान सुरक्षा चुनौती तथा अपनाउनुपर्ने सावधानीबारे निर्देशन दिएका थिए।
उक्त भर्चुअल कार्यक्रममा प्रहरी अतिरिक्त महानिरीक्षक, प्रहरी नायव महानिरीक्षक, वरिष्ठ अधिकृतहरूका साथै काठमाडौं उपत्यका प्रहरी कार्यालय, सातै प्रदेश प्रहरी कार्यालय, राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, प्रदेश तालिम केन्द्र, विशेष सुरक्षा गण, जिल्ला प्रहरी कार्यालय र निर्वाचन सेलका प्रमुख तथा प्रतिनिधिहरूको सहभागिता रहेको थियो।