मध्यपूर्वी तनावका कारण खाडी मुलुक जाने कामदारको श्रम स्वीकृति स्थगित

दियोपोस्ट संवाददाता  

काठमाडौं । मध्यपूर्वमा बढ्दो तनाव र इजरायल-अमेरिका-इरानबीचको सैन्य गतिविधिका कारण उत्पन्न अस्थिर अवस्थालाई मध्यनजर गर्दै सरकारले खाडी मुलुक जाने नेपाली कामदारका लागि श्रम स्वीकृति दिने प्रक्रिया अस्थायी रूपमा स्थगित गरेको छ।

श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले आइतबार एक सूचना जारी गर्दै अर्को सूचना नआएसम्मका लागि खाडी राष्ट्रहरूमा नयाँ श्रम स्वीकृति नदिइने जनाएको हो।

क्षेत्रीय सुरक्षा अवस्था संवेदनशील बन्दै गएकाले नेपाली नागरिकको सुरक्षालाई प्राथमिकतामा राख्दै यस्तो निर्णय गरिएको बताइएको छ । बिभिन्न सम्बन्धित देशमा जान विमानस्थल पुगेका यात्रुलाई घर फर्किन अनुरोध गरिएको छ ।

यता परराष्ट्र मन्त्रालयले मध्यपूर्वका विभिन्न देशमा रहेका नेपालीहरूलाई उच्च सतर्कता अपनाउन र अनावश्यक यात्रा नगर्न आग्रह गरेको छ। मन्त्रालयले सम्बन्धित देशका रहेका नेपाली दूतावासहरूसँग निरन्तर समन्वय भइरहेको जनाएको छ।

सरकारी स्रोतका अनुसार हाल खाडी क्षेत्रमा करिब १५ लाखभन्दा बढी नेपाली श्रमिक कार्यरत छन्। विशेषगरी कतार, संयुक्त अरब इमिरेट्स, साउदी अरब, कुवेत र बहराइन नेपाली कामदारका प्रमुख गन्तव्य मुलुक हुन्।

मन्त्रालयले हालसम्म श्रम स्वीकृति लिइसकेका र यात्रा तयारीमा रहेका कामदारहरूलाई समेत सम्बन्धित देशको सुरक्षा अवस्थाबारे अद्यावधिक जानकारी लिन र आवश्यक परे यात्रा तालिका पुनःनिर्धारण गर्न सुझाव दिएको छ।

वैदेशिक रोजगार व्यवसायीहरूले सरकारको निर्णयले अल्पकालीन रूपमा वैदेशिक रोजगारीको प्रवाहमा असर पर्ने बताएका छन्। यद्यपि, उनीहरूले कामदारको सुरक्षालाई प्राथमिकता दिनुपर्नेमा जोड दिएका छन्।

सरकारले क्षेत्रीय अवस्था सामान्य भएपछि श्रम स्वीकृति प्रक्रिया पुनः सुचारु गरिने जनाएको छ।

सिफारिस