पोखराको ड्यामसाइडमा सुटकेसभित्र युवतीको शव भेटियो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । पोखरा महानगरपालिका-६ ड्यामसाइडको नयाँ पुलमुनी खोलामा सुटकेसभित्र एक युवतीको शव फेला परेको छ। आइतबार बिहान करिब ८ बजे शंकास्पद अवस्थामा तन्नाले बेरेको सुटकेस भित्र शव फेला परेको हो ।

तन्नाले बेरिएको सुटकेस देखेपछि स्थानीयले वडा प्रहरी कार्यालय बैदामलाई जानकारी गराएका थिए। सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थल पुगेको थियो।

सुटकेस खोलेर हेर्दा भित्र अन्दाजी २०-२५ वर्ष उमेरकी युवतीको शव फेला परेको वडा प्रहरी कार्यालय बैदामका प्रमुख प्रहरी नायब उपरीक्षक नमराज भट्टराईले जानकारी दिए।

जिल्ला प्रहरी कार्यालय कास्कीका सूचना अधिकारी हरी बहादुर बस्नेतका अनुसार घटना शंकास्पद देखिएकाले विस्तृत अनुसन्धान सुरु गरिएको छ। शवको हालसम्म सनाखत हुन सकेको छैन।

प्रहरीले शवलाई पोष्टमार्टमका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान (गण्डकी अस्पताल) पठाएको जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

सिफारिस