महेन्द्रनगर । कञ्चनपुर जिल्लामा दुई फरक घटनामा एक जना निर्वाचन प्रहरी र एक युवकको ज्यान गएको छ। पुनर्बास नगरपालिकामा खटिएका ३५ वर्षीय निर्वाचन प्रहरी मानसिंह रानाको उपचारका क्रममा निधन भएको हो।
जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक हेमबहादुर शाहीका अनुसार लालझाडी गाउँपालिका-३ बल्मी घर भएका राना पुनर्बास-९ स्थित जीवनशक्ति आधारभूत मतदान केन्द्रमा कार्यरत थिए।
सोमबार राति खाना पकाउने क्रममा अचानक बेहोस भएका उनलाई उपचारका लागि धनगढीस्थित निशर्ग अस्पतालमा भर्ना गरिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको हो। प्रारम्भिक जानकारीअनुसार राना उच्च रक्तचाप र मधुमेहबाट पीडित रहेको बताइएको छ।
यस्तै, मोटरसाइकल दुर्घटनामा २३ वर्षीय निरज चौधरीको ज्यान गएको छ। बेदकोट नगरपालिका-७ गाउजीबाट सुडातर्फ जाँदै गरेको म१प ८०४५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा भीमदत्त नगरपालिका-१८ भगतपुर निवासी चौधरी गम्भीर घाइते भएका थिए।
उपचारका लागि धनगढीस्थित मायामेट्रो अस्पतालमा लगिएको उनको उपचारकै क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ। दुर्घटनामा सोही मोटरसाइकलमा सवार २२ वर्षीय सागर चौधरी र १९ वर्षीय प्रमोद चौधरी घाइते भएका छन्। दुवै जनाको धनगढीमै उपचार भइरहेको छ।
प्रहरीका अनुसार मोटरसाइकल अनियन्त्रित भई विद्युत् पोलमा ठोक्किँदा दुर्घटना भएको हो।