निर्वाचनको मौन अवधिमा राजनीतिक सन्देश रोक्न स्पारो एसएमएसको ‘किवर्ड ब्लक सिस्टम’ लागू

दियोपोस्ट संवाददाता  

काठमाडौं । निर्वाचन आचारसंहिता अन्तर्गत मौन अवधिमा राजनीतिक प्रकृतिका ‘एसएमएस’ सन्देश पूर्ण रूपमा नियन्त्रण गरिएको छ । ‘स्पारो एसएमएस’ले मंगलबार प्रेस विज्ञप्ति जारी गर्दै निर्वाचन आयोगले तोकेको ४८ घण्टे मौन अवधिमा एसएमएस प्रणालीमार्फत हुने राजनीतिक प्रचार-प्रसार रोकिएको जानकारी दिएको हो।

कम्पनीका अनुसार निर्वाचन अवधिमा स्वच्छ, निष्पक्ष र मर्यादित वातावरण सुनिश्चित गर्न ‘किवर्ड ब्लक सिस्टम’ लागू गरिएको छ। यस प्रणालीमार्फत राजनीतिक दल, उम्मेदवार तथा निर्वाचनसँग सम्बन्धित संवेदनशील शब्दहरूको पहिचान गरी स्वचालित रूपमा सन्देश अवरुद्ध गरिने व्यवस्था मिलाइएको जनाएको छ। यसबाट मौन अवधिमा कुनै पनि प्रकारका राजनीतिक प्रचारात्मक एसएमएस प्रसारण नहुने कम्पनीको दाबी छ।

स्पारो एसएमएसका प्रमुख कार्यकारी अधिकृत (सीईओ) मनोज थापाले जिम्मेवार प्रविधि सेवा प्रदायकको हैसियतले निर्वाचन आयोगका निर्देशन पूर्ण रूपमा पालना गर्नु आफ्नो दायित्व भएको बताएका छन्।

उनले लोकतान्त्रिक प्रक्रियाको सुरक्षा र पारदर्शिताका लागि डिजिटल माध्यमको दुरुपयोग रोक्न आवश्यक कदम चालिएको स्पष्ट पारे।

कम्पनीले मौन अवधिमा राजनीतिक सन्देशहरू नियन्त्रण गरे पनि अन्य नियमित सेवाहरू भने सुचारु रहने जनाएको छ। बल्क एसएमएस, ओटीपी, बैंकिङ सन्देश, सेवा सम्बन्धी सूचना तथा व्यावसायिक मार्केटिङ सन्देशहरू भने यथावत रूपमा सञ्चालनमा रहने बताइएको छ।

सिफारिस