काठमाडौं । कैलालीस्थित घोडाघोडी नगरपालिका वडा नं. ४ स्थायी घर भई हाल किर्तिपुरको नगाउँमा डेरा गरी बस्दै आएका स्वरुप नेपाली माथि जातीय गाली गलौज र कुटपिट भएको भन्दै उनकी दिदी दिपा नेपालीले जाहेरी दर्ता गराएकी छन् । नेपालीले सोही घरमा डेरा गरी बस्ने हरिश सार्की र तेजेन्द्र सार्की विरुद्ध किर्तिपुरस्थित प्रहरी वृत्त कार्यालयमा गाली बेइज्जती, कुटपिट तथा अभद्र व्यवहारसम्बन्धी जाहेरी दर्ता गराएकी हुन् ।
गत माघ २३ गते दर्ता भएको उक्त जाहेरीमा आरोपी हरिश र तेजेन्द्रले माघ १७ गते राति एक्लै कोठामा बसेर अध्ययन गरिरहेका बेला जबर्जस्ती कोठाभित्र प्रवेश गरी अश्लील तथा जातीय अपशब्द प्रयोग गर्दै स्वरुपमाथि हातपात र लछारपछार गरेको उल्लेख छ ।
जाहेरीमा उल्लेख भएअनुसार उनीहरुले निहुँ खोज्दै ‘बाहिर निस्की , नत्र जे पनि हुन सक्छ’ भन्दै धम्की दिएका थिए।
आरोपीहरुले कोठामा अनाधिकृत रुपमा पसि कुटपिट, लछार पछार गरि सकेपछि पनि तँलाई देखाईदिन्छौं बाहिर निस्के, तलाइँ मारीदिन्छौ भन्दै ठूलो ठूलो स्वरमा अश्लील शब्दमा गालीगलौज गर्दै बाहिर निस्केको जाहेरीमा उल्लेख छ ।
घटनापछि रातभर त्रासमा बस्न बाध्य भएको र हालसम्म पनि आफू असुरक्षित महसुस गरिरहेको नेपालीले बताएकी छन् ।
उनका अनुसार पछिल्ला तीन वर्षदेखि उनीहरुबाट निरन्तर मानसिक तनाव दिइँदै आएको थियो भने जातीय गालीगलौज, अपमान र खिसीट्युरीसमेत सहनुपरेको थियो।
तेजेन्द्र संग्राम भनिने तेजेन्द्र सार्की र उनका दाजु हरिश संग्राम भनिने हरिश सार्की सोही घरको अर्को कोठामा बस्दै आएको पीडितले बताएका छन् ।
यता घटनाका आरोपी हरिश सार्कीले आफू घटनास्थलमै नरहेको भन्दै दियोपोस्टमा खण्डन समेत पठाएका छन् । आफू भृकुटिमण्डपमा एक कार्यक्रममा रहेपनि आफूमाथि झुटा आरोप लगाएको उनको निवेदनमा उल्लेख छ ।
पीडितले भने हरिश सार्की घटनाको अन्तिम समयमा आइपुगेको जाहेरीमा उल्लेख गरेका छन् । पीडित स्वरुप नेपाली राजधानीस्थित शंकरदेव क्याम्पसमा बि.बि.एस. चौथो वर्षमा अध्ययनरत विद्यार्थी हुन् ।
प्रहरीले अभद्र व्यवहार कसुरमा जाहेरी दर्ता गरेको जानकारी पीडितलाई दिएको छ ।
यता, किर्तिपूर प्रहरी बृत्तका डिएसपी शिवकमार बुढाथोकीले पीडितले अनलाईन मार्फत जाहेरी दिएको बताए । जाहेरवालालाई घटना संग सम्वन्धित पाँच जना प्रत्यक्षदर्शीहरुलाई प्रहरी बृतमा उपस्थित गराउन भनिएको भए पनि उनीहरुले अहिलेसम्म प्रत्यक्षदर्शी उपस्थित नगारएका कारण आरोपीलाई पक्राउ नगरिएको बताए ।
सोही कार्यालयका प्रहरी सहायक निरिक्षक खेमराज अधिकारीले यस घटनाको विषयमा अदालती प्रकृया अगाडी बढिसकेको बताए । उनले भने, ‘प्रतिवादी पक्राउ गर्ने बिषयमा अनुसन्धान भइरहेको छ । अहिले चुनाव भएका कारण कर्मचारी र सुरक्षा कर्मीहरु सबै फिल्डमा छौँ । चुनाव पछि कारवाही अघि बढ्छ ।’