काठमाडौँ । पर्साको वीरगन्ज महानगरपालिकाको वडा नम्बर-१६ बाट सुतली बमसहित तीन जनालाई प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेमा कृष्ण यादव, रोहित पटेल र अविजित यादव रहेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा गरिएको चेकजाँचका क्रममा उनीहरूलाई सुतली बमसहित नियन्त्रणमा लिइएको हो।
उनीहरूको साथबाट ९ थान सुतली बम, २ थान मोबाइल, १ थान पावर बैङ्क, १ थान चार्जर , ५ वटा सेतो रङ्गको तार र सुँगुरको टाउको १ वटा फेला पारेको प्रहरीले जनाएको छ ।
प्रारम्भिक अनुसन्धानबाट उनीहरू निर्वाचनको समयमा धार्मिक द्वन्द्व फैलाउने उद्देश्यले अवाञ्छित गतिविधि गर्न खोजिरहेको आशंका गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनास्थलबाट केही शंकास्पद सामग्रीसमेत बरामद गरेको जनाएको छ। पक्राउ परेकाहरूविरुद्ध विस्फोटक पदार्थसम्बन्धी कसुर तथा सार्वजनिक शान्ति भंगसम्बन्धी मुद्दामा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयले जानकारी दिएको छ।
यस घटनापछि क्षेत्रमा सुरक्षा सतर्कता बढाइएको छ। निर्वाचन नजिकिँदै गर्दा कुनै पनि प्रकारका आपराधिक तथा उक्साहटपूर्ण गतिविधि हुन नदिन सुरक्षा निकायले निगरानी कडा पारेको बताइएको छ।
प्रहरीले सर्वसाधारणलाई कुनै पनि शंकास्पद गतिविधि देखिएमा नजिकको प्रहरी कार्यालयमा जानकारी गराउन अनुरोध गरेको छ।