पर्सागढीमा बमसहित नेकपा उम्मेदवार मनोज चौधरी पक्राउ

दियोपोस्ट संवाददाता  

काठमाडौँ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का उम्मेदवार मनोज चौधरी बमसहित पक्राउ परेका छन्। पर्साको पर्सागढी नगरपालिका क्षेत्रमा चौधरी सवार गाडीमा बम फेला परेपछि प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो।

प्रहरीका अनुसार नियमित जाँचका क्रममा शंकास्पद अवस्थामा रहेको गाडी रोकेर तलासी लिँदा विस्फोटक पदार्थ जस्तो देखिने सामग्री बरामद भएको थियो। त्यसपछि चौधरीसहित गाडीमा रहेका अन्य तीन जनालाई पनि नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

घटनापछि सुरक्षा सतर्कता बढाइएको छ भने बरामद सामग्रीको प्रकृति र उद्देश्यबारे अनुसन्धान भइरहेको छ। पक्राउ परेकाहरूमाथि आवश्यक कानुनी प्रक्रिया अघि बढाइएको प्रहरीले जानकारी दिएको छ।

यस घटनाबारे थप विवरण आउन बाँकी रहेको छ।