बगालुङ क्षेत्र नं. २ मा खटाइएका मतदान अधिकृतको जिम्मेवारी खोसियो

दियोपोस्ट संवाददाता  

काठमाडौँ । प्रतिनिधि सभा सदस्य निर्वाचन-२०८२ अन्तर्गत बागलुङ जिल्लाको प्रतिनिधि सभा निर्वाचन क्षेत्र नं. २ मा खटाइएका एक मतदान अधिकृतलाई जिम्मेवारीबाट हटाइएको छ।

निर्वाचन अधिकृतको कार्यालय, बागलुङले जारी गरेको पत्रअनुसार श्री रुवा आ.वि. मतदान केन्द्र, रुवा गलकोटमा खटाइएका मतदान अधिकृत प्रकाश गैरेलाई जिम्मेवारीबाट हटाइएको हो।

कार्यालयका अनुसार मतदान अधिकृतहरूले सञ्चालन गरेको व्हाट्सएप समूहमा मिति २०८२ मंसिर १९ गते दिउँसो १ः१३ बजे र त्यसपछि गरिएको सन्देश आदान-प्रदानका क्रममा अन्य मतदान केन्द्रका मतदान अधिकृतहरूको मनोबल गिराउने तथा निर्वाचन कार्यलाई प्रभावित पार्न सक्ने आशयका अभिव्यक्ति सार्वजनिक भएको पाइएको थियो। उक्त सन्देशमा मत दुबानी खर्चसम्बन्धी विषय उल्लेख गर्दै ८ हजार रुपैयाँ दिने जस्ता अभिव्यक्ति समेत प्रयोग गरिएको जनाइएको छ।

निर्वाचन अधिकृत भीम प्रसाद सुवेदीका अनुसार निर्वाचनको स्वच्छता, निष्पक्षता, स्वतन्त्रता र विश्वसनीयतामा प्रतिकूल असर पर्न सक्ने देखिएकाले प्रतिनिधि सभा सदस्य निर्वाचन जनशक्ति व्यवस्थापन निर्देशिका, २०८२ को दफा २० बमोजिम उनलाई जिम्मेवारीबाट हटाइएको कार्यालयले जनाएको छ।

साथै, उनको जिम्मामा रहेका मतपत्र तथा अन्य निर्वाचन सामग्रीहरू तत्काल सुरक्षा निकायलाई बुझाई यथाशीघ्र निर्वाचन अधिकृतको कार्यालयमा सम्पर्क गर्न निर्देशन दिइएको छ।

निर्वाचन अधिकृतको कार्यालयले स्वतन्त्र र निष्पक्ष निर्वाचन सम्पन्न गराउन सबै सरोकारवालालाई आ–आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक निर्वाह गर्न आग्रह गरेको छ।